नक्कली सुन तथा नाेटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

काठमाडौँ महानगरपालिका ३ बसुन्धारा क्षेत्रमा नक्कली सुन  तथा मुद्राको अवैध कारोबार हुने गरेको भन्दै प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले एक भारतीय नागरिकसहित  दुई जनालाई पक्राउ गरेको  प्रहरी वृत्त महाराजगंजले जनाएको छ । 

 प्रहरी अधिकृतसहित खटिएको टोलीले  असार ३० गते बसुन्धारबाट गोरखा आरुघाट गाउँपालिका वडा नम्बर १० का वर्ष ४८ को दुर्गा बहादुर खत्री क्षेत्री र भारत देश लखनउ घर भई काठमाडौँ महानगरपालिकामा बस्ने  वर्ष ४५ को विनय कुमार सिंहलाई नक्कली नेपाली र भारतीय मुद्रा फेला पारेको थियो । 

उनीहरूसँग सोधपुछ गर्ने क्रममा प्रहरीले क्षेत्रीले डेरा गरिबस्ने  नागार्जुन नगरपालिका २ सानो भर्‍याङको उनको कोठाबाट नक्कली सुन लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरी अनुसार उनीहरूको साथबाट दुई हजार र पाँच सय दरका नक्कली जस्तो देखिने भारतीय नोट ४ थान, एक हजार नक्कली जस्तो देखिने नेपाली नोट ६ थान, एक केजी फाइन गोल्ड लेखिएको पहेँलो धातु दुई थान, दश ग्राम फाइन गोल्ड लेखिएको पहेँलो धातु राखिएको क्यु आर कोड सहितको दुई सय थान, दश ग्राम फाइन गोल्ड लेखिएको पहेँलो धातु बिस थान, पहेँलो धातुका टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता  सय थान, एक लेमीनेशन मेशिने, मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको हो । 

 बरामद गरिएका सामान सहित मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको  प्रहरी वृत्तले जनाएको छ ।