विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका ६ स्थित सुनदह बचत तथा ऋण सहकारी संस्थाको रकम घोटला प्रकरणमा पक्राउ परेका अध्यक्षसहित तीन जना पुर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ अदालतले पक्राउ परेका सहकारीका अध्यक्ष  ४५ वर्षीया लाल बहादुर भण्डारी, व्यवस्थापक पदमा कार्यरत ४४ वर्षीया  राजेन्द्र तामाङ र लेखा सहायक पदमा कार्यरत ४६ वर्षीया  विश्वनाथ चौधरीलाई सोमबार पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको हो ।

२०७९ सालको चैत्र महिनाबाट व्यवस्थापक पदमा कार्यरत रहेका तामाङ्गसहित तीन जनाले ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी ठगी गरेको कसूरमा ईलाका प्रहरी कार्यालय पथरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

सुनदह सहकारीले एक जना बचत कर्ताको ७ लाख रुपैयाँसम्म हिनाहिमना गरेको पाइएको छ । सञ्चालक तथा व्यवस्थापनले मनोमानी ढंगले रकम चलाएका कारण निक्षेपकर्ताको लाखौं रुपैयाँ नदिइकन बसेका थिए ।

आर्थिक रुपमा टाड पल्टिएको सहकारीले निपेक्षकर्ताहरूले जम्मा गरेको लाखौं रुपैयाँदिन आलटाल गर्दै आएको बचतकर्ताहरुको गुनासो छ । सञ्चालक तथा कर्मचारीको मिलेमतोमा निक्षेपकर्ताको निक्षेप डुबाइएको पीडितको गुनासो छ । 

सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ । सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकमहिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ । सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो । जसले गर्दा एकपछि अर्को संस्थामा समस्या देखिन थालेको छ ।