प्रोमो कोड प्रयोग गरेर वानएक्स बेट प्लेटफर्मको गैरकानुनी ढंगमा प्रचारप्रसार गरेको अभियोगमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।
वकिलको कार्यालयले सोमबार दर्ता गरेको अभियोग पत्रमा बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ ।
उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । अभियोग पत्रमा उनीहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरूसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।
गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्य कलाकार मरिचमान श्रेष्ठ, पवन खतिवडा, राजु पौडेल, सरोज घिमिरे, बेगम नेपालीका साथै युट्युबरहरु एलिश राई, जलन घर्तीमगर र गणेश देवकोटालाई पक्राउ गरेको थियो ।
प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलमार्फत् अदालतमा अभियोग पत्र दर्ता गरिने छ ।































