वराहक्षेत्र । चतरा साहित्यिक मञ्चले राष्ट्रिय कविता महोत्सवका विजेता वराहक्षेत्र नगरपालिकाको कवि प्रकाश दिपसाली राईलाई सम्मान गरेको छ । शनिवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी मञ्चले वार्ड ३ स्थित नडाहाका कवि राईलाई नगदसहित सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको राष्ट्रिय कविता महोत्सवका उत्कृष्ट १० विजेता मध्ये एक राईलाई प्रमुख अतिथि वडा २ का अध्यक्ष होम प्रसाद गौतमले सम्मान गरेका थिए ।

अध्यक्ष गौतमले राईलाई नगद १० हजार १ सय १ रूपैंया सहित दोसल्ला ओढाएर सम्मान–पत्रले अभिनन्दन गरिएको चतरा साहित्यिक मञ्चका अध्यक्ष दीपा मग्रातीले बताइन् ।यसै गरी अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका भारतका उपाध्यक्ष भिम बिरही राईले पनि कवि राई फेटा गुथेर सम्मान–पत्रले सम्मानित गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले कवि राईले वराहक्षेत्रको कला साहित्यको क्षेत्रमा कविताको माध्यमले गरिएको योगदानको प्रशंसा गरेका थिए । गौतमले कवि तथा साहित्यकारले समाजको विकासमा रचनात्मक भूमिका खेल्ने भन्दै आगामी बजेटमा वार्डका कवि,साहित्य, पत्रकारिता, युवा, महिला जस्ता समाजका महत्त्वपूर्ण अङ्गलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका वक्ता द्वय कविहरू प्रह्लाद पहरेदार तथा राज माङलाकले कवि राईको साहित्यिक योगदानको चर्चा गरेका थिए । कवि दिपसालीले ‘न्वारनको नाम’ सहित १० वटा र अर्का छविना लुङगेली मगर, आर्यन निरौला र विमला श्रेष्ठले कविता वाचन गरेका थिए । भने महिमा राई र बाल गायक राजेश राईले नृत्य र गायन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा धरान र उदयपुरका कवि तथा नव स्रष्टाहरूको उपस्थितीहरूको रहेको थियो । स्वर्णिम साहित्य समाजको सहकार्य र दीपा मग्रातीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वर्णिम साहित्य समाजका सचिव लक्ष्मण कटुवालले गरेका थिए ।