प्रोमो कोड प्रयोग गरेर वानएक्स बेट प्लेटफर्मको गैरकानुनी ढंगमा प्रचारप्रसार गरेको अभियोगमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरमाथिको अनुसन्धान पूरा भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिलसमक्ष बुझाएको हो । वानएक्स बेट प्रकरणमा प्रतिवेदनले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४, ५ र ६ बमोजिम सजाय मागदाबी गर्न सुझाव दिएको छ ।

पक्राउ परेकाहरुले सट्टेबाजी गर्ने कम्पनीबाट पैसा समेत लिने गरेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । 

गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्य कलाकार मरिचमान श्रेष्ठ, पवन खतिवडा, राजु पौडेल, सरोज घिमिरे, बेगम नेपालीका साथै युट्युबरहरु एलिश राई, जलन घर्तीमगर र गणेश देवकोटालाई पक्राउ गरेको थियो ।

प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलमार्फत् अदालतमा अभियोग पत्र दर्ता गरिने छ ।