भद्रपुर । काँकडभिट्टास्थित एनआइसी एशिया बैङ्कको एटिएमबाट रकम लुट्ने असफल प्रयास भएको छ ।

मेचीनगर–६ स्थित राधिका क्षेत्रीको घरमा सञ्चालित बैङ्कको एटिएमबाट रकम लुट्ने प्रयास भएको हो । भूइँतलामा रहेको एटिएमको सटरमा मान्छे भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैङ्कका मेनेजर रेवन्त न्यौपानेले जानकारी दिए ।

तर, एटिएमको भल्ट नखुलेकोले करिब २० लाखभन्दा बढी रकम भने सुरक्षित रहेको उनले बताए । सोमबार बिहान २ बजे २०–२२ वर्षको नकावधारी एक युवाले एटिएमभित्र पसेर भल्ट फोड्ने प्रयास गरेको मेनेजर न्यौपानेले बताए । लुटेराले भल्ट फोड्ने प्रयास गरे पनि नसकेको न्यौपानेले जनाए । ‘सिसी क्यामेरा छोपेछ । भल्ट खोल्ने प्रयास गर्यो, सकेनछ । नखुलेपछि छाडेर हिँडेको देखियो’–उनले भने ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएसपी दीपक भारतीले एनआइसी एशिया बैङ्कको एटिएम फोडेर राति पैसा निकाल्ने प्रयास गरेको बताए । फरार युवाको खोजी कार्य भइरहेको उनले जानकारी दिए । पछिल्लो समय एनआइसी एशिया बैङ्क असुरक्षित बन्दै गइरहेको केही दिनको घटनाले पुष्टि गरिसकेको छ ।