भद्रपुर । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौडा–१ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


 बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरूलाई विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर फेला परेको डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सोनीले गुप्ताङमा लगाएको प्याडमा ब्राउनसुगर लुकाएर काठमाडौं लैजान खोजेकी थिइन् । सोनीसँग ब्राउनसुगर फेला परेपछि सँगै काठमाडौं जान लागेकी उनकी दिदी सन्ध्यालाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको उनले जानकारी दिए ।