देउराली ।  तनहुँ १ र चितवन २ रास्वपाले हात पारेको छ ।  तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । चितवन २ मा १२ हजार मत गणना हुन बाकी रहँदा रास्वपाका सभापति रवि लामिछानेले निकटतम प्रतिस्पर्धीलाई ३७ हजारभन्दा बढी मतले पछी पारेर जित सुनिश्चित गरेका छन् । 

तनहुँमा १ मा मत गणना सम्पन्न  भइसक्दा डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका छन् । डा. वाग्लेको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले २० हजार ९२ मत ल्याएका थिए ।

 नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेलाई  मुख्य निर्वाचन अधिकृत कोलप्रसाद आचार्यले प्रमाणपत्र प्रदान गरेका छन्  । 

विजय प्राप्त भएसँगै डा। वाग्ले  तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे । 

तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भने, “जनताका अपेक्षा न्याय गर्नेछु ।” डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए। नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए। देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, “सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।”

मङ्सिर ४ को प्रतिनिधि सभा निर्वाचनमा लामिछाने चितवन २ बाटै निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा पनि उनले भारी मतान्तरले जित दोहोर्‍याउने निश्चित भएको छ ।

लामिछानेले ५०  हजार २९ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ९ हजार १६६ मत पाएका छन् त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८७९ मत पाएका छन् ।

लामिछानेको जित सुनिश्चित भएपछि काँग्रेस उम्मेदवार श्रेष्ठले मतदाताको दुःखसुखमा विगतको भन्दा अझै सशक्त ढङ्गले लाग्ने प्रतिबद्धता जनाउँदै  लामिछानेलाई बधाई  दिएका छन् । उनले  पुराना दलहरू अब सच्चिने वा सकिने भन्ने तय गर्नु पर्ने बताएका छन्  ।

 सभापति लामिछानेको जित सुनिस्चित भएसँगै उनले सरकारलाई दिएको समर्थनको औचित्य  नदेखिएको भन्दै समर्थन फिर्ता लिने सङ्केत गरेका छन् । उनले सञ्चारकर्मीहरू सँग कुरा गर्दै भने  ‘अहिलेसम्म तय भइसकेको छैन। सरकारलाई दिएको समर्थनको औचित्य देखिएको छैन। अब काठमाडौँ फर्किसकेपछि छलफल गर्छौँ। पछिल्लो समय कुनै औचित्य नदेखिएकाले छलफल गर्न आवश्यक भएको छ।’

उनले थपे , ‘समर्थनको नाममा सरकारले जे पनि गर्दा हुन्छ भन्ने छैन। हामीले नोटिसमा राखेको छौँ। निर्वाचनकै बेलामा यसलाई जिताइदिन्छौ मन्त्री बनाइदिन्छौँ भन्नु लोकतन्त्रको भद्दा मजाक हुन्। मैले यो सरकारका नेतृत्वबाट यस्तो अपेक्षा गरेको चिज होइन।’


उपनिर्वाचन भएको तिन वटै स्थानमा  सत्ता गठबन्धनको संयुक्त उम्मेदवार छन् । जसमा चितवन   तनहुँमा काँग्रेसले उम्मेदवारी दिएको छ । बारा २ मा यसअघिकाे निर्वाचनमा जनमत पार्टीका डा सिके राउतसँग 

दाेब्बर मतान्तरले हार बेहाेरेका जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । उनलाई सत्ता गठबन्धन दलको समर्थन छ ।

नेकपा एमालेले पनि उपनिर्वाचन भएको यी तीनै स्थानमा आफ्नो उम्मेदवारी दिएको छ । आफ्नो तथा आफ्नो पार्टीको समर्थन रहेका यी उम्मेदवारलाई जिताउन नेपालका वर्तमान तथा पूर्व प्रधानमन्त्री निर्वाचन क्षेत्र पुगेका थिए । घरदैलो तथा विशाल जनसभामा सम्बोधन गरेका  वर्तमान तथा पूर्व  प्रधानमन्त्रीले मागेको भेटको विपरीत ब्लेट बक्समा जनअभिमत देखिएको छ ।

बारा २ मा भने सत्ता गठबन्धनका उम्मेदवार यादवले मतान्तर बढाइरहँदा रास्वपा कै उम्मेदवार रमेश खरेल चौथो स्थानमा रहेका छन् । 

जसपाका यादव  १३ हजार ८०४ मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाह ९ हजार २३१,  एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ५७७ मत पाएका छन् भने, रास्वपा का खरेल २ हजार ३१ मत पाएका छन् ।