धनकुटा । नेपाल पत्रकार महासङ्घ धनकुटाका शाखा सह–सचिव पूर्णकुमार चौधरीको नाममा अक्षयकोष स्थापना गरिएको छ ।

उनको १२ औं दिनको पुण्य तिथिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । उनको माघ १८ गते उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो ।

चौधरी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) धनकुटा शाखाका सचिवसमेत हुन् । दिवङ्गत चौधरीको १२ औँ दिनको पुण्यतिथिमा शोकसभा गरेर अक्षयकोष स्थापना गरिएको छ ।

शोकसभामा शाखा उपाध्यक्ष विदुर खवासले उनको जीवनी वाचन गरेका थिए । उनी भेडेटार एफ.एम.का स्टेसन मेनेजर रहेका थिए । शोकसभा कार्यक्रममा फोनिजका सङ्घीय अध्यक्ष गजुरधन राईले परिवारलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । चौधरीको निधनमा नेपाल प्रेस युनियन धनकुुटा शाखाले पूर्णकुमार चौधरी स्मृति पत्रकारिता पुरस्कार कोष घोषणा गरेको छ ।

pic-2