विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताबाट मोटरसाइकल चोरी गर्दागर्दै एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रतिष्ठानको सर्जरी वार्डबाट मोटरसाइकल चोरी गर्दागर्दै सुरक्षा गार्डले पक्राउ गरेको हो ।
सोमबार राति धरान–१५ श्याम चोक बस्दै आएका १७ वर्षीय समिर परियार पक्राउ परेका छन् । प्रहरी कार्यालयका अनुसार परियारले को.३८ प ९१३८ नम्बरको १ सय ५० सिसी कालो पल्सर मोटरसाइकल डोर्याएर लैजाँदै गर्दा सुरक्षा गार्डले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार मोटरसाइकल भोजपुरका चन्द्रध्वज कार्कीको हो । उनले कार्की भोजपुरबाट आफन्तको उपचारमा आएको बताए । उनले भने, ‘एक जना पक्राउ परेका छन् । गिरोह नै छ कि भनेर अनुसन्धान गरिरहेका छौँ ।’
प्रहरीका अनुसार कार्कीले आइतबार नै पार्किङमा राखेर प्रतिष्ठानमा आफन्तको उपचारमा थिए । परियारले अन्य व्यक्तिले नै आफूलाई प्रलोभनमा पारी मोटरसाइकल ल्याउनु भनेको विषयमा अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए ।