वराहक्षेत्र । वराहक्षेत्र–२ की अमृता बराइलीले ऋषि पञ्चमीमा गाउँका साथीहरूसँगै ब्रत लिइन् तर, पूजा गर्ने बेलामा एकसाथ पूजा गर्न नमानेको बताइन् । आइतबार वराहक्षेत्र–२ मा गरिएको छुवाछुतमुक्त समाजका लागि अन्तरक्रिया कार्यक्रममा बराइलीजस्तै अन्यले पनि आफूले भोग्नुपरेको भेदभावको पीडा सुनाए ।
नेपाल संयुक्त दलित समाजको आयोजनामा भएको कार्यक्रममा दलित अधिकारकर्मीहरू हम्बबहादुर परियार र पौरखी नेपालकी अध्यक्ष दिलु गजमेरले व्यवस्था बदलिए पनि विचार परिवर्तन नहुँदा अहिलेको आधुनिक समाजमा पनि दलितको पीडा अझै उस्तै रहेको बताए ।
दलित सेवा सङ्घका नगर अध्यक्ष लङ्कमान विकले वडा नं. १ र २ का दलितलाई किन बजेट नदिएको भन्ने प्रश्न गरे । अर्का दलित अधिकारकर्मी पर्शुराम कार्कीढोलीले दलित जातिले सिलाएको लुगा अनि फलामको सामग्री र बाँसले बनाएको ढाकी प्रयोग गर्दा हुने तर, छोएको पानी नचल्ने भन्दै आक्रोस पोखे । दलित समुदायका पण्डित जयलाल विश्वकर्माले बरु कुकुर, बिरालोले इज्जत पाउँछन् तर, दलितले पाउँदैनन् भन्दै जुनसुकै बहानामा गरिने भेदभाव सह्य नहुने बताए ।
कार्यक्रममा गैरदलित समुदायका युवराज भट्टराईले जातीय छुवाछुत अन्त्य गरौं शीर्षकको कविता वाचन गरेका थिए भने गोपाल थापाले जातीय भेदभाव पीडादायी भएको बताए ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम र वडा नं. १ अध्यक्ष किसन थापा मगरले बजेटको सवालमा केही कमीकमजोरी भएको भन्दै आउने दिनमा सुधार गरेर लाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ की सांसद् ममता योञ्जन तामाङले दलितको सवालमा नगरपालिकादेखि वडाहरूले नियमितरूपमा दलित, मधेशी, पिछडावर्ग र आदिवासी जनजातिको लागि निश्चित बजेट छुटाइनुपर्ने बताइन् । कार्यक्रममा भविन्द्र विश्वकर्माले दलितको लागि संविधानमा व्यवस्था भएको अधिकार, कानूनी उपचार आदिका बारेमा सहजीकरण गरेका थिए ।