झापा । मेडिकल व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले सुरु गरेको ‘नागरिक बचाऊ महाअभियान’  पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका छन् ।

झापास्थित मेची पुलमा आयोजित सभामा पूर्व राजपरिवारका अन्य सदस्य पनि पुगेका छन् । पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहसमेत सभामा सहभागी भए ।

मेची–महाकाली गर्ने प्रसाईंको अभियानको उद्धेश्य सङ्घीयता खारेजी छ । साथै व्यवसायीका लागि काम गर्ने अवस्था नभएको उल्लेख गर्दै व्यवसायीमैत्री वातावरणको प्रसाईंले माग गरेका छन् ।

प्रसाईंले दलका अध्यक्षसहित पूर्व राजालाई महाअभियानमा सहभागी हुन अपिल गरेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउने महाअभियान भएको उनले अपिलमार्फत् जनाएका थिए ।

देशको संरचना पुनः एकीकरण र विदेशमा रहेका नेपाली स्वदेश फर्केर उद्यम गर्ने वातावरण निर्माणका लागि महाअभियान गरिएको प्रसाईंको तर्क छ । प्रसाईंले केही समयअघि पूर्व राजालाई भेटेका थिए । पूर्व राजालाई भेटेपछि उनले राजसंस्थाका पक्षमा पनि बोल्दै आएका छन् ।