धरान । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सह–चालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मङ्गलबार बिहान देवानगञ्ज रासी सडक–खण्डमा दुर्घटना हुँदा चालक बर्जु गाउँपालिका–५ का ४० वर्षीय प्रमोद पण्डितको ज्यान गएको हो । को २ त ६२३८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

तत्काल उनलाई कोसी अस्पताल विराटनगरमा उपचारका लागि लगिए पनि उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यस्तै दुर्घटनामा परी सह–चालक देवानगञ्ज गाउँपालिका–२ का ३० वर्षीय धीरेन्द्र खत्वे घाइते भएका छन् । उनको पनि कोसी अस्पतालमै उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पाँचथरको फिदिममा रुख र भीरबाट लडेर दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–१३ लुङ्रुपाका ३८ वर्षीय मनोज नेम्वाङ र कुम्मायक गाउँपालिका–३ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । नेम्वाङ फिदिम–७ को नाङ्लापा भन्ने स्थानमा भीरबाट लडेका थिए भने सम्बाहाम्फेको घाँस काट्ने क्रममा फिदिम–५ मा रुखबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।