बिर्तामोड । झापाको शनिश्चरेमा आइतबार बिहान भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । अर्जुनधारा–७ का इन्द्रबहादुर लिम्बूको काठको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

शनिश्चरे प्रहरी चौकीका अनुसार बिहान ५ः३० बजेदेखि सुरु भएको आगलागीबाट प्रारम्भिक रूपमा २३ लाख ९० हजार रुपैयाँ बढीको धनमाल क्षति भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ । आगलागीबाट १० लाख बराबरको घर, चार लाख ७२ हजार नगद, डेढ तोलाको सुनको औंठी, डेढ तोलाको सुनको सिक्री, दुई लाख बराबरको लत्ताकपडा, चार लाख रुपैयाँ बराबरको अन्य सामग्री जलेको बताइएको छ ।

आगलागी भएको झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगो निभाउन बिर्तामोड, मेचीनगर नगरपालिकाको बारुण यन्त्र, पानीको ट्याङ्कर, सशस्त्र प्रहरी बल बेस क्याम्प शनिश्चरे, शनिश्चरे प्रहरी चौकी र स्थानीय परिचालित भएका थिए ।