धरान । मोरङको बेलबारी बजारनजिकै लालभित्तीमा आइतबार बिहान भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजना वृद्धको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतीय नम्बर प्लेट डब्लु बी ७४ बी जे ५४७७ नम्बरको कार पल्टिँदा भारत सिक्किम वेस्ट सोरेङ घर भएका ६३ वर्षीय प्रतापसिंह तामाङको निधन भएको हो ।
दुर्घटनामा थप तीनजना घाइते भएका छन् । सिन्धुलीमा मृत्यु संस्कारको कार्यक्रममा पुगेर फर्किने क्रममा दुर्घटना हुँदा चालक सोही ठाउँका ४१ वर्षीय फुर्वा छिरिङ तामाङ, सवार २२ वर्षीय पाल्देन टासी तामाङ र ४३ वर्षीय बालचुक तामाङ घाइते भएका छन् ।
उनीहरूको विराटनगरिस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । मृतक तामाङको पनि सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मृतक चालक फुर्वाका बुबा हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।