भद्रपुर । झापाको मेचीनगरस्थित काँकडभिट्टामा निर्माणाधीन भ्यूटावर बजेट अभावले अलपत्र परेको छ ।
भ्यूटावर निर्माणस्थलबाट सीमावर्ती दशगजा करिब ५ सय मिटर पूर्व पर्छ । भ्यूटावर बनेपछि नेपाल, भारत, बङ्गालादेश र भुटानसम्मका पर्यटकका लागि आर्कषणको गन्तव्य बन्ने अनुमान गरी निर्माण सुरु गरे पनि बजेट अभावले निर्माण कार्य अलपत्र परेको हो ।
प्रदेश १ को ७० र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागतमा करिब ५ करोडमा बन्ने सम्झौता गरेको कन्काई इन्टरनेशनल बिल्डर्सले भुक्तानी नपाएपछि १० प्रतिशत काम गरेर छोडेको छ । सम्झौताअनुसारको रकम नपाएपछि पिलरको रड ठड्याएर बेवारिसे अवस्थामा ठेकेदारले छाडेका छन् ।
तीन वर्षमा टावरको सामान्य जग मात्र उठेको छ । करिब ५ सय फिट उचाइमा रहेको भू–भाग स्थानीय विश्वनाथ शिवालय मन्दिरपरिसरमा १ सय २० फिट उचाइको १० तले भ्यूटावरबाट नेपाल–भारत सीमावर्ती भू–भागका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिनेछ ।
नेपाल–भारतको नेपाली सीमावर्ती सहरमा भ्यूटावर बन्ने भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणले यहाँको व्यावसायिक प्रवद्र्धनमा ठूलो टेवा पुग्ने देखिएको छ । झापा जिल्ला ट्राभल्स सङ्घका अध्यक्ष नीरबहादुर कार्की (नेत्र)ले ३ वर्ष बित्न लाग्दा पनि टावर बन्न नसकेकोमा दुःख व्यक्त गरे ।
भ्यूटावर निर्माणका लागि निवर्तमान प्रदेश सांसद् श्रीप्रसाद मैनालीको कार्यकालमा बजेट विनियोजनमा परेको बजेट तत्काल प्रदेश सरकारले निकासा गर्नुपर्ने मैनालीको भनाइ छ । प्रदेश सरकारले अहिलेसम्म बजेट दिएको छैन । मेचीनगर नगरपालिकाले उक्त भ्यूटावरको ठेक्का लगाएको थियो, तर कागजातमा यसको निरन्तरता कसले दिने भन्नेमा आधिकारिकता देखिँदैन, मेचीनगर नगरप्रमुखले भने, ‘बजेटको सुनिश्चितता नभई कसरी ठेक्का लाग्यो भन्ने विषय बुझ्दै छु ।’
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा देशको विभिन्न स्थानमा भ्यूटावर निर्माणका लागि राज्य कोेषबाट ठूलो रकम छुट्याएपछि चौतर्फी आलोचना भएको थियो । यो योजनासँगै धेरै भ्यूटावर पनि अलपत्र परेका छन् । ठेकेदार कम्पनीले ४८ लाख पेश्की रकम लिएको छ । तीन वर्षअघि निकै तामझामका साथ शिलान्यास गरे पनि अझैसम्म बन्न सकेको छैन ।