वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाका प्रमुख र उपप्रमुखसहित जनप्रतिनिधिले मन्दिरको सरसफाइ गरेका छन् ।
उनीहरूले शनिबार नगरपालिकाको वडा नं. १ स्थित कटहरेमा रहेको पङ्खवती भगवती मन्दिरपरिसरको सफाइ गरेका हुन् । ‘सुन्दर सफा वराहक्षेत्रको विकासमा जनप्रतिनिधिको हात’ अभियान अन्तर्गत नगरप्रमुख रमेश कार्कीको नेतृत्वमा उपप्रमुख नन्दकुमारी राई, वडाका प्रतिनिधि, नगरका कर्मचारी र नगर प्रहरीको समूहले मन्दिरपरिसर सफाइ गरेका थिए ।
धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्रमा रहेका प्राचीन ऐतिहासिक र पुरातात्वक महत्वका मठ मन्दिरहरूको प्रचार–प्रसार र संरक्षण गर्न स्थानीयलाई सहभागी गराउने उद्देश्यले अभियान सुरु गरिएको नगरप्रमुख कार्कीले बताए ।
प्रत्येक शनिबार छुट्टीको दिन पारेर नगरका कुनै मठमन्दिरमा सफाइ गर्न थालिएको यो अभियानले जनप्रतिनिधि र स्थानीयसँगको भेटघाट र आपसी सौहाद्र्रता बढ्ने प्रमुख कार्कीको भनाइ छ ।