धरान । कवि कृष्ण पाख्रिनका प्रकाशित कृतिहरुबाट छनोट गरिएका केही कविताहरु युवा कविहरुले वाचन गरेका छन् । 

गत शनिबार ‘कृष्ण पाख्रिनका कविताहरु, युवाको आवाजमा’ भन्ने कार्यक्रम गरी ८ जना युवा कविहरुले कविता वाचन गरेका थिए । जसमा करूण राई, राज माङ्लाक, राज आशातीत, प्रदीप योङ्हाङ, तीर्थ विक, कुमार प्रधान, हिक्मत खड्का र वीरेन सुब्बाले कविता तथा मुक्तकहरु सुनाएका थिए । त्यसक्रममा वीरेन सुब्बाको निर्देशनमा तयार भएको कवि कृष्ण पाख्रिनको परिचयात्मक दृश्य सामग्री पनि प्रस्तुत गरिएको कवि तथा कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानका अध्यक्ष सुदीप पाख्रिनले जानकारी दिए । 

सुदीप कृष्ण पाख्रिनका छोरा हुन् । परिवारले मिलेर कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान गठन गरेका छन् । गत असोजमा गठन गरिएको प्रतिष्ठानले वार्षिक रुपमा साहित्यिक उत्सव गर्ने योजना बनाएको उनले जानकारी दिए । २०५० सालमा भौतिक शरीर त्यागेका कवि पाख्रिनका तीनवटा कविता कृतिहरु प्रकाशित छन् । 

२०४४ सालमा शताब्दी, २०५२ सालमा सन्त्रास र २०६२ सालमा तिमी लहर नदीको प्रकाशित छ । सोही कविता तथा मुक्तक कृतिबाट छनोट गरी पुनः कोरोना महामारी हुनुभन्दा केही समयअगाडि २०७६ सालमा सङ्कलित कृति पनि प्रकाशित गरिएको उनले जानकारी दिए । ‘बुबाको योगदानलाई स्मरण गर्दै वार्षिक रुपमा एउटा कार्यक्रम किन नगर्ने भनेर प्रतिष्ठान गठन गरिएको हो’ उनले भने, ‘वार्षिक रुपमा एउटा साहित्यिक फेस्टिवल गर्ने योजना छ ।’