धरान । वराहक्षेत्र नगरपालिका–२ मा रहेको हरिद्वार कृषि सहकारी संस्थाले ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेको छ ।

वराहक्षेत्र–१ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा आयोजित संस्थाको आठौं वार्षिक साधारणसभाको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा ज्येष्ठ नागरिकतर्फ धनबहादुर दाहाल, मोहनबहादुर दाहाल, मानबहादुर तामाङ, कमलबहादुर दाहाल, प्रेमबहादुर बस्नेत र जयमाया मगर छन् भने एकल महिलातर्फ शिलामाया दाहाल, इन्द्रकुमारी मगर, कर्णमाया कार्की र प्रेमकुमारी राई छन् ।

संस्थाका अध्यक्ष लोकबहादुर दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वराहक्षेत्र–१ की वडासदस्य दिलमाया नेपालीले सम्मान–पत्र हस्तान्तरण गरेकी थिइन् ।

साधारणसभामा प्रस्तुत प्रगति विवरणअनुसार संस्थाको शेयर पुँजी २४ लाख १२ हजार ९ सय रहेको छ । गतवर्ष संस्थामा ३ करोड ९९ लाख ७० हजार ५ सय ६३ बचत र ३ करोड ३९ लाख १५ हजार ७ सय ५८ बचत फिर्ता गरिएको बताइएको छ । संस्थाले आर्थिक वर्ष २०७९/०८० का लागि विविध कृषि कार्यक्रमहरू सञ्चालन गर्ने योजना प्रस्तुत गरेको लेखा समिति संयोजक कृष्ण भण्डारीले बताए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अदुवा बेसार जोन संयोजक तपेन्द्र राई, वराहक्षेत्र नगरशिक्षा समिति सदस्य ज्ञानबहादुर पाण्डे, कम्प्युटर एसोसिएसन नेपाल उदयपुरका अध्यक्ष राजन आचार्य, कृषक हेमकुमार राईलगायतले बोलेका थिए । संस्थाकी पूर्व उपाध्यक्ष गङ्गा कार्कीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।