बेलबारी । मङ्गलबार साँझ आफ्नो सब्जी पसल बन्द गरेर घर फर्कने क्रममा मोरङको लक्ष्मीमार्गमा एक महिलाको नगद लुटपाट भएको छ ।

मोटरसाइकलमा आएका व्यक्तिले बेलबारी–११ लक्ष्मीमार्गकी कमला कार्कीको नगद लुटपाट गरेका हुन् । उनले स्थानीय एक सहकारी संस्थाबाट झिकेर ल्याएको रकम र दिनभर व्यापार गरेको गरी जम्मा ४३ हजार नगद रहेको झोला लुटपाट भएको बताइन् । पैसा लुटिएपछि कराउँदै केही परसम्म दैडिए पनि मोटरसाइकललाई भेट्टाउन नसकेको उनले बताइन् ।

कार्कीको पैसा लुटिएको भोलिपल्ट बुधबार दिउँसो सोही स्थानको आसपासमा कवाडी धातुजन्य सामग्री सङ्कलन गर्न आएका साइथ अत्तर नाम गरेका व्यक्तिको मोबाइल जबरजस्ती लुटपाट गरी लगिएको छ । भारतीयमूलका ती व्यक्ति मोबाइलमा कुरा गर्दै गरेको अवस्थामा खोसेर लगेको उनले बताए । यी दुवै घटनामा संलग्न व्यक्ति पक्राउ परिनसकेको प्रहरीले जनाएको छ ।

दुई महिनाअघि सोही स्थानका कुलबहादुर खत्रीको पसलबाट ७ लाख नगदसहित किराना पसलको केही सामान चोरी भएको थियो । लक्ष्मीमार्गमा शान्ति सुरक्षा दिन प्रतिदिन फितलो बन्दै गएकोप्रति स्थानीय चिन्तित रहेको स्थानीय व्यवसायी रोशन श्रेष्ठले बताए ।

बेलबारी बजारक्षेत्रमा रहेको इलाका प्रहरी कार्यालयले बजार क्षेत्रलाई बढी प्राथमिकतामा राखेर गस्ती गरिरहेको र अब लक्ष्मीमार्ग बजार क्षेत्रमा पनि नियमित गस्ती बढाउने इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमलाले बताए ।

बेलबारी बजार क्षेत्र र लक्ष्मीमार्ग बीचमा ४ किलोमिटर जङ्गल क्षेत्र रहेको छ । नजिक भनिएको डाँगीहाट प्रहरी चौकी भाउन्नेसँग पनि बीचमा डेढ किलोमिटर जङ्गल पर्छ । भाउन्नेका प्रहरी प्रमुख रहेका असइ महेन्द्रबहादुर कार्कीले पर्याप्त जनशक्ति नरहेको र सवारी साधनको अभावले तुरुन्तै सेवा दिन कठिनाइ भएको बताए ।