धनकुटा । धनकुटा नगर क्षेत्रका खानेपानीको ट्याङ्गकीहरु चुहिन थाले पछि खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको छ ।
खानेपानी तथा सफाइ उपभोक्ता समिति धनकुटाका उपाध्यक्ष नरेन्द्र पोख्रेलले धनकुटा बजारमा रहेको ५ वटा खानेपानीको ट्याङ्गकी चुहिएर काम नदिने भएको बताएका छन् । उनले धनपा–६ लहरे चौतारामा रहेको ३ लाख लिटर भन्दा बढी पानी आँट्ने ४ वटा ट्याङ्गकी चुहिएको जानकारी दिए । उनले बजेट अभावको कारण खानेपानी ट्याङ्कीको मर्मत गर्न नसकिएको बताए । पटक÷पटक मर्मत गर्दा पनि बरको जरा फैलिएर लहरे चौतारा रहेको खानेपानीको ट्याङ्गकी चुहिएको पोख्रेलले बताए ।
यता नगरपालिका वडा नं।७ र ६ को सिमाना परिचय मोडमा रहेको दमकललाई आकस्मिक रूपमा पानी भर्ने ८० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्गकी पनि चुहिएको छ । सुख्खा याममा अचानक आगलागी हुँदा दमकललाई पानी भर्नको लागि रिजर्भ राखिने गरिएको परिचय मोडको पानी ट्याङ्गकी चुहिएको ६ महिना भन्दा बढी भएको छ । एभोकाडो पार्क समेत रहेको चार चौताराको दमकललाई पानी आपूर्ति गर्ने ट्याङ्गकी चुहिएको ६ महिना भन्दा बढी बितिसक्दा पनि सरोकारवालाहरूको ध्यान पुग्न सकेको छैन ।
धनकुटा नगरपालिका कार्यालयमा कार्यरत दमकल चालक बेचन सरदारले भने–‘चार चौतारा एभाकोडो पार्क भित्र रहेको दमकलको लागि पानी आवश्यक पर्दा पानी भर्ने रिजर्भ ट्याङ्गकी चुहिएको छ ।’ उनले दमकललाई पानी आवश्यक पर्दा पानी तान्न खोज्दा पानी नआएपछि १७ किलो मिटर टाढा गएर मुलघाट स्थित तमोर नदीबाट भरेर ल्याउनु परेको बताए ।
गएको मङ्सिर ६ गते धनकुटा–५ कर्मिटारमा मिना श्रेष्ठको घरमा २ बजे राती आगलागी हुँदा नगरपालिकामा रहेको २ वटा दमकललाई पानीको आवश्यकता खट्किएको चालक सरदारले बताए । धनकुटा बजारमा दमकलाई पानी आवश्यक पर्दा पानी भर्न राखिएको रिजर्भ ट्याङ्गकी चुहिए पछि खानेपानी लाइनको इमर्जेन्सी पोलबाट पानी भर्न नसकिएको चालक वेचनले बताए ।
विगत ३० वर्ष देखि खानेपानी तथा सरसफाई कार्यालय धनकुटामा पानी खोल्ने काम गरिरहेका चन्द्र बहादुर आठपहरिया ९पानी काँहिला० ले भने–‘बरको जराले गर्दा धनपा–६ र ७ चार चौतारा र धनपा–लहरे चौतारामा रहेको खानेपानीको रिजर्भ ट्याङ्गकीहरु चुहिएको छ । उनले आफूले पटक÷पटक कार्यालयमा जानकारी गराउँदा पनि ट्याङ्गकी मर्मतको लागि ध्यान नपुगेको बताए । अब सुख्खा याम सुरु भई सक्यो, धनपा–५ र ३ मा गरी २ स्थानमा यस अघि नै आगलागी भई सक्यो, दमकलको लागि जतिखेर पनि पानी चाहिन्छ, तर, बरको जराले गर्दा रिजर्भ ट्याङ्गकीहरु सबै चुहिएको छ–चन्द्र बहादुरले थपे ।
उनले पानी जति भरे पनि ट्याङ्कीमा नअडिने भएपछि तत्काल आफूले कार्यालयलाई जानकारी गराएको बताए । यता नगर क्षेत्रमा रहेको साना सहरी खानेपानी आयोजनाले राखेको ६ वटा इमरजेन्सी पोलबाट पनि रिजर्भ ट्याङ्गकी चुहिने भएपछि पानी दिन नसकिने उनले बताए । प्रायः गरेर आगलागी रातको समयमा हुने गरेको र दमकललाई आपतकालिन रूपमा पानी चाहिन्छ तर, पानी नभएपछि दमकललाई पानी दिन सकिएको छैन, पानी नभएपछि दमकल तमोर नदीमा झर्ने गरेको छ–चन्द्र बहादुरले भने ।
सो विषयमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई ब्लाष्टले सम्पर्क गर्दा बरको जराले गर्दा चुहिने भएका नगर क्षेत्रका खानेपानीको ट्याङ्गकीहरु तत्काल मर्मत गर्ने बताए । उनले सुख्खा याममा खानेपानीको हाहाकार हुने भएकाले पानी ट्याङ्गकी तत्काल प्राविधिक पठाएर स्टिमेट गराएर मर्मत गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापाले खानेपानीको रिजर्भ ट्याङ्गकी चुहिएको विषयमा नगरपालिकाले तत्काल काम गर्ने बताए । थापाले तत्काल प्राविधिक पठाएर ट्याङ्गकी मर्मतको काम थाल्ने बताएका छन् ।
खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका उपाध्यक्ष नरेन्द्र पोख्रेलले विगत लामो समय देखि खानेपानीको रिजर्भ ट्याङ्गकीहरु चुहिएको बताए । उनले आर्थिक अभावको कारण धनपा–६ लहरे चौतारो ४ वटा र धनपा–७ परिचय मोड एभोकाडो पार्कमा रहेको रिजर्भ ट्याङ्गकी मर्मत गर्न नसकिएको बताए । ट्याङ्गकी मर्मतको लागि धनकुटा नगरपालिकालाई अनुरोध गरिएको पोख्रेलले बताए ।
आपत् पर्दा तत्काल उद्धार गर्नु पर्ने भइपरी आई लाग्ने आगलागी जस्ता जनधनको क्षति हुनसक्ने विपतको घट्नालाई न्यूनीकरण गर्न आवश्यक तयारीमा सम्बन्धित पक्षको तत्काल ध्यान जान जरुरी छ ।