धरान । बेलायतमा रहेर समाजसेवा तथा व्यवसाय क्षेत्रमा सक्रिय नेपाली महन्तबहादुर श्रेष्ठ (मन्टी) ले राजा चाल्र्स तृतीयबाट दिइने अर्डर अफ द ब्रिटीस एम्पायर (ओबीई) पदवी पाएका छन् ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा दिइने विभिन्न पदवी अन्तर्गत श्रेष्ठलाई समाजसेवा तथा व्यवसायको क्षेत्रमा लण्डन बरो अफ इलिङमा पुर्याएको योगदानको कदर स्वरूप ओबीई पदवी दिइएको बताइएको छ । पदक भने आगामी जुन महिनामा विशेष कार्यक्रमबीच प्रदान गरिनेछ ।
कला, विज्ञान तथा च्यारिटीमूलक संस्था वा समाजसेवामा गरेको योगदानको सम्मानस्वरूप प्रदान गरिने यस्तो पदवी यो वर्ष करिब ११ सय जनाले पाएका छन्, जसमध्ये नेपाली समुदायबाट श्रेष्ठ एक्ला हुन् । यसअघि भने ओबीई पदक डा. सूर्यप्रसाद सुवेदी र डा. राघवप्रसाद धितालले पाएका थिए ।
सन् १९७६ मार्च १० मा रेष्टुरेन्टमा काम गर्न लन्डन पुगेका श्रेष्ठ अहिले रेष्टुरेन्ट व्यवसायसँगै बियर कम्पनी सञ्चालन गर्छन् । उनी लन्डनको इलिङस्थित मन्टिज रेष्टुरेन्टका सञ्चालक हुन् । बेलायतमा मन्टी नामले समेत चिनिने उनले आफ्नै नामबाट ‘मन्टिज’ रेष्टुरेन्ट सञ्चालन गरेका छन् । यही नाममा बेलायतमा आधा दर्जन रेष्टुरेन्ट सञ्चालित छन् । उनले कम्पनी खोलेर बेलायतबाटै ‘खुकुरी बियर’ समेत उत्पादन गरिरहेका छन् । काठमाडौंको ठमेलमा समेत उनले ‘एम होटल’ सञ्चालन गरिरहेका छन् ।
एनआरएनए युकेका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठ बेलायतका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि (दूत) पनि हुन् ।
त्यस्तै यूके–नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष श्रेष्ठ पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उनी इलिङ चेम्बर अफ कमर्सको पूर्वअध्यक्ष पनि हुन् । उनको सामाजिक सेवाका लागि वेस्ट लण्डन विश्वविद्यालयले उनलाई मानार्थ एमबीए पनि प्रदान गरेको छ ।
बेलायतका राजाबाट पदवी पाएपछि उनले खुसी व्यक्त गर्दै आफ्नो कामको मूल्याङ्कन भएको बताएका छन् । उनले भने, ‘मेरो लागि एकदम खुसीको कुरा हो । यो पदवीले मलाई सामाजिक क्षेत्रमा अझै सक्रिय बन्न प्रेरणा प्रदान गरेको छ ।’