धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित भित्री सडक–खण्डमा सवारीले ठक्कर दिँदा साइकल यात्रीको ज्यान गएको छ ।

१ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीका अनुसार सोही ठाउँका २१ वर्षीय सोल्जा ठाकुरको ट्याक्टरको ठक्करबाट ज्यान गएको हो ।

सुरुमा घटना साइकल यात्रीहरूबीच एकआपसमा ठक्कर खाई लडिरहेको अवस्थामा को १ त ४३७८ नम्बरको ट्याक्टरको ट्रलीको चक्काले ठाकुरलाई घिसार्न पुगेको थियो । सोही कारण उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते ठाकुरलाई तत्काल उपचारका लागि विराट नर्सिङ अस्पताल विराटनगर लगिएको भए पनि उपचारको क्रममा उनको निधन भएको हो ।

सुरुमा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको अर्को साइकल यात्री भारत बिहार राज्य बनेलेपटी ग्रामपञ्चायत ९ का २३ वर्षीय अजिम साफीबीच ठक्कर खाएको थियो । ठक्कर खाई लडिरहेको अवस्थामै ट्याक्टरको ट्रलीको चक्काले घिसार्न पुगेको थियो । साफी भने सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साइकल, ट्याक्टर र ट्याक्टर चालक सोही ठाउँका ४५ वर्षीय भूनेश्वर मेहता र साफीलाई प्रहरी चौकी मधुवनले नियन्त्रणमा लिएको छ । घटना ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगरबाट ८ किलोमिटर दक्षिणमा पर्दछ ।

ट्याक्टर चालकको सवारी चालक अनुमति पत्र नभएको र चालकले सडकमा ध्यान नदिएका कारणले दुर्घटना हुन पुगेको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ । घटना आइतबार साँझतिर भएको हो ।