देउराली । प्रदेशमा सरकार गठनका लागि घनीभूत छलफल चलिरहेको छ । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेपछि सरकार गठन गर्न केन्द्रीय नीतिअनुसार गठबन्धन दलहरूबीच  छलफल चलिरहेको हो । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमत पार्टीबिच सातै प्रदेशको सरकार बन्ने भए पनि कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयको टुङ्गिए लागि सकेको छैन । मधेसमा जनमत पार्टी र जसपाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य ६ प्रदेश मध्ये ४ वटामा एमाले र २ वटामा माओवादी केन्द्रले नेतृत्व गर्ने भन्ने सहमति भएको भनिए पनि  एमाले र  माओवादी केन्द्रको नेतृत्वमा गठन हुने प्रदेशहरूको टुङ्गो लागिसको छैन । 

संसदमा गठबन्धन पार्टीको मत भारका आधारमा दलहरूले सरकार गठनमा नेतृत्व लिन सक्ने अनुमान गरिए पनि नेतृत्व निकटताका वा राजनीतिक लाभका आधारमा प्रदेश सभामा कम मत भार भएका दलहरूले नेतृत्व लिन सक्ने अनुमान पनि हुने गरेको छ । 

यसैबिच संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आइतबार प्रदेश प्रमुख परशुराम खापुङले आह्वान  गरेपछि प्रदेश १ मा कसको नेतृत्वमा सरकार बन्ला भन्ने चासो बढेको छ । 

९३ सदस्यीय  प्रदेशसभामा संविधानको धारा १६८ को उपधारा (१)  बमोजिम सरकार गठनका लागि ४७ सिटको आवश्यक पर्दछ । बहुमत पुग्न ७ सिटले पछि परेको एमाले  संसदीय दलका नेतामा हिक्मत बहादुर कार्कीलाई सर्वसम्मत बनेका छन् । प्रदेश सभामा एमालेले ठुलो दल भएकाले सरकार गठनका लागि आफूलाई प्रमुख दाबेदार ठान्दछ । आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन गर्न दाबी पेस गर्दै आएको छ ।

यदि एमालेले सरकार गठनको नेतृत्व पाए मुख्यमन्त्री कार्की बन्ने छन् । सत्ता साझेदार दलबिच सहमति गरेरै प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि दाबी पेस गर्ने बताउने कार्की  प्रदेश १ मा एमालेकै नेतृत्वमा सरकार गठन हुने दाबी गर्छन् । 

 सरकार गठनका लागि अनौपचारिक छलफल भइरहेको भए पनि प्रदेश प्रमुख  खापुङको आह्वानसँगै औपचारिकता पाएकोले  सत्ता साझेदार दलबिच सरकार गठनका लागि औपचारिक रूपमा छलफल सुरु हुने कार्कीले बताए ।

उनी भन्छन् " एमाले ठुलो पाटी भएकाले स्वाभाविक रूपमा सरकारको नेतृत्वको दाबी रहन्छ र एमालेकै नेतृत्वमा सरकार गठन हुन्छ ।"

प्रदेश सभामा तेस्रो दल माओवादी केन्द्रले पनि प्रदेश सरकारको नेतृत्वमा आफ्नो दाबी रहने बताउँदै आएको छ । यस अघि सरकारको नेतृत्वको माग दाबी गर्दै  प्रदेश १ पदाधिकारी बैठकले पार्टीको शीर्ष नेतृत्व र सत्ता साझेदार दलहरूसँग छलफललाई अगाडि बढाउने निर्णय समेत गरेको थियो । 

अघिल्लो कार्यकालमा एमालेको नेतृत्वमा सरकार गठनका लागि आफूहरूले सहयोग गरेको भन्दै यस पटक आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने  माओवादी केन्द्रको अडान छ । नेतृत्व र गठबन्धन दलहरूसँग छलफल भइरहेको र  केन्द्रको निर्णय पर्खिरहेको बताएका माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो  गठबन्धनको केन्द्रीय सहमति विपरीत भने नजाने बताउँछन् । 

उनी भन्छन् "अघिल्लो पटक एमाले र एकीकृत समाजवादीलाई हामीले सघायौँ,  अब हामीलाई सघाउनु पर्छ ।" यदि प्रदेश १ मा माओवादी केन्द्रको नेतृत्वमा सरकार बने आङ्बो मुख्यमन्त्री हुनेछन् । 

सरकार गठनका लागि एमाले र माओवादी केन्द्र पर्याप्त भए पनि  केन्द्रीय समीकरणमा  राप्रपा (६) र जसपा (१) पनि भएकाले यी दलहरू प्रदेश १ मा पनि गठबन्धन रहन सक्नेछन् । प्रदेशसभाको दोस्रो ठुलो दल नेपाली काँग्रेसका (२९) र नेकपा एकीकृत समाजवादीका (४) प्रतिपक्षमा रहने देखिएको छ । 

एमाले बाहेक सरकार गठनका लागी अन्य दलहरूको सम्भावना शून्य भएकाले प्रदेश सरकारको नेतृत्व एमालेले नै लिन सक्ने आङ्कलन गरिएको छ ।