देउराली । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् । खापुङले विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
पुस २४ गते आइतबार बेलुका ५ बजेसम्मको समय सीमा तोकिएको उक्त विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिटको आवश्यक पर्ने भए पनि ठुलो दल एमालेसँग ४० सिट मात्र छ भने, अन्य दल पाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् ।
उपधारा १ बमोजिम प्रदेश सरकार गठनका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत नदेखिएपछि उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न खापुङले आह्वान गरेका छन् ।
दोस्रो प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकः दुई अध्यादेश र एउटा नियमावली पारित
आइतबार नै प्रदेश नम्बर १ को दोस्रो प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठक बसेको छ । प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको उक्त बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित गरेको छ ।
बैठकले प्रदेश निजामती सेवा अध्यादेश २०७९ र प्रदेश ऐन संशोधन अध्यादेश पारित गरेको छ भने प्रदेशसभा नियमावली २०७४ (पहिलो संसाधनसहित) पारित गरेको छ ।