सुनसरी । धानबाली भित्र्याइसकेका सुनसरीका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बिउ जोहो गरेपनि रासायनिक मल नहुँदा गहुँ छर्न ढिलाइ भएको जिल्लाका किसान बताउँछन् ।

गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी मलको अभाव हुँदा खेती गर्न समस्या भएको कोसी गाउँपालिका वडानम्बर ७ हरिपुरका किसान शिवनारायण पण्डित बताउँछन् । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिए पनि वास्तविक किसानलाई आवश्यकता अनुसार मल पाउन नसकेको उनको भनाइ छ ।

सरकारले किसानलाई मल वितरण गर्न दिएको कम्पनीले स्थानीय तहसँग समन्वय गरेर मल वितरण गर्दा एकरूपता नभएको किसान मण्डलको गुनासो छ । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी सङ्घमार्फत् वडाको सिफारिसमा मल वितरण गर्दै आएको छ ।

मागअनुसार मल उपलब्ध नहुँदा किसानलाई आवश्यकताअनुसार मल वितरण गर्न नसकिएको स्थानीय जनप्रतिनिधि बताउँछन् । ‘हामीलाई उपलब्ध गराइएको परिणामको मल किसानलाई बाँड्ने गरेका छौँ’ कोसी गाउँपालिका वडानम्बर ७ हरिपुरमा अवस्थित स्वयम् कृषि सहकारी संस्थाका रामचन्द्र कोइरीले भने । यता किसान भने आवश्यक रासायनिक मल नपाएकाले गहुँबाली लगाउन समस्या भएको बताउँछन् ।

यसअघि भारतीय बजारबाट जेनतेन गरेर मल ल्याउने गरेकोमा सीमामा भारतीय प्रहरीले कडाइ गरेको कोसी गाउँपालिका वडा नम्बर ८ भण्टाबारीका किसान गणेश यादवले बताए । यसैबीच सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद् इसराइल मन्सुरीले गहुँ छर्ने सिजन भएकोले समयमै किसानलाई मल उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादवलाई ध्यानाकर्षण गराएका छन् । उनले किसानको समस्या लिएर प्रजिअ यादवलाई ध्यानाकर्षण गराउँदै किसानलाई सहज तवरबाट मल उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् ।

प्रदेश १ कै अन्न भण्डारका रूपमा रहेको सुनसरी जिल्लाका किसानले सिजनका बेला मल पाउन नसकेको समस्या नयाँ भने होइन  । हरेक वर्ष किसानलाई मल अभाव हुने गरे पनि स्थानीय तह वा सम्बन्धित निकाय मल आपूर्ति गर्न गम्भीर नभएको स्थानीय किसानको भनाइ छ । सिजनमै रासायनिक मल पाउन नसकेको भन्दै किसानले प्रत्येक वर्ष ध्यानाकर्षण गराउँदा समेत रासायनिक मल समयमै उपलब्ध नभएपछि किसान निराश भएका छन् ।

एकपटक रासायनिक मलको प्रयोग गरेपछि खेतमा बालीपिच्छे प्रयोग गर्नुपर्ने भएकोले सिजनमा मल नपाउँदा समस्या हुने गरेको किसान बताउँछन् । रासायनिक मलको चरम् अभाव भइरहेको बेला सहकारी संस्थाहरूको समेत मनोमानी बढ्दै गएको किसानहरू बताउँछन् । रासायनिक मल र बिउ सहकारी संस्थाहरूमार्फत् बिक्रीवितरण हुने भएकाले उनीहरूको मनोमानी बढेको किसानको गुनासो छ ।

मल बिक्रीवितरणमा शेयर सदस्यलाई सहकारी संस्थाले प्राथमिकता दिई वास्तविक किसानलाई नदिने गरेको कोसी गाउँपालिका–६ का किसान जोगेन्द्र यादवले गुनासो गरे । कतिपय सहकारी संस्थाहरूले सदस्यहरूलाई दिने बहानामा एकै व्यक्तिलाई धेरै बोरा मल दिए पनि आफूहरू लिन जाँदा खाली हात फर्काउने गरेको उनको आरोप छ ।

साल्ट्र ट्रेडिङमार्फत् बिक्रीवितरण गर्न जिम्मा पाएका सहकारी संस्थाहरूले वास्तविक किसानलाई मल दिन आनाकानी गर्दै आएको किसानको गुनासो छ । बजारमा मल अभावका कारण किसान भौंतारिइरहेको अवस्थामा स्थानीय किसानको नाममा ल्याउने मल कालोबजारी गर्दै कतिपय सहकारी सञ्चालकहरूले बेच्ने गरेको स्थानीयको आरोप छ ।

आफ्नै वडामा आएको मल पाईएला भन्ने आशामा बसेका किसानलाई मल लिन जाँदा सहकारी सञ्चालकहरूले मल छैन भनेर फर्काउने गरिएको किसान यादवले गुनासो गरे ।