विजयपुर । विराटनगर महानगरको डुबान समस्या समाधान गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
सोमबार विराटनगर महानगरले एसियाली विकास बैङ्क (एडिबी) सहयोगमा डुबान समस्या समाधान गर्न सम्भाव्यता अध्ययन सुरु गरेको हो । विराटनगर महानगरकी सूचना अधिकारी अनिता न्यौपाने काइरालाले डुबान समस्या समाधानका लागि अध्ययन सुरु गरेको बताइन् । उनका अनुसार महानगरमा हुने डुबानलाई वैज्ञानिकरूपमा समाधान गर्नका लागि अध्ययन सुरु गरिएको हो ।
महानगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा डुबानग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरिएको थियो । आरयुडिपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षाको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । उनका अनुसार एडीबीका परामर्शदातासहित अध्ययन सुरुवात गरिएको छ ।
पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङ्बारी, मर्लिखोलालगायतको पानीलाई पनि मूलखोलामा पु¥याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने योजना छ । नगर प्रमुख कोइरालाले भने, ‘उत्तर–दक्षिण–पूर्व–पश्चिमसम्मको भाग हेरिरहेका छौं ।’ परामर्शदार्ताले अध्ययनपश्चात् प्रतिवेदन गरेपछि प्रक्रिया अघि बढ्ने महानगरले जनाएको छ ।
परामर्शदाता स्मेक डिएमका टिम लिडर डा. शेख जाबेद मोहम्मदसहितको प्राविधिक समूहले अध्ययन गर्दैछ । प्राविधिक समूहले महानगरको वडा नं. ३, १५, १७, १८ र १९ को स्थलगत अध्ययन गरेको छ । समूहले स्थानीयसँग पनि समन्वय गरेको थियो । समूहले नगरका अन्य डुबान समस्या भएका क्षेत्रको पनि अध्ययन गर्नेछ ।
वडा नं. १९ का अध्यक्ष श्याम घिमिरे, वडा नं. १५ का प्रकाश साह, वडा नं. १८ का जितेन्द्रकुमार साहले समस्याबारे जानकारी गराएका थिए । समूहमा नगरका इन्जिनियर पनि थिए । समूहले केही दिन अध्ययन गर्ने महानगरले जनाएको छ ।