विराटनगर । विराटनगर १८ फडानीस्थित श्रीराम आधरभूत विद्यालयमा रिक्त रहेको तीन जना शिक्षक पदपूर्तीको लागि लिएको परीक्षा निष्पक्ष नभएको भन्दै पुनः परीक्षाको माग राखेका छन् ।

परीक्षामा सामेल भएका ७ जना र परीक्षा दिन नपाएका १२ जना परीक्षार्थीहरूले शिक्षक पदपूर्तीको लागि मंसिर २२ गते लिएको परीक्षा निष्पक्ष नभएको आरोप लागउँदै उनीहरूले पुनः परीक्षा हुनुपर्ने माग राखेका हुन् । 

१ सय ४४ जना विद्यार्थी अध्ययरत रहेको श्री राम आधरभूत विद्यालयमा दुई जना करार र एक जना राहत शिक्षकको दरबन्दी दुई वर्षदेखि रिक्त रहेको थियो ।  उक्त रिक्त रहेको शिक्षकको पदपूर्तीको लागि विद्यालयले शिक्षक आवश्यकताको सूचना जारी गरेको थियो । जस अनुसार २२ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएका मध्ये १० जना मात्र परीक्षामा सामेल भए । अन्य १२ जनाले विद्यालयले परीक्षाको मिती जानकारी नगराएको कारणले परीक्षाबाट बन्चित हुनुपरेको उनीहरुको भनाई छ । परीक्षा निष्पक्ष नभएको भन्दै पुनः परीक्षाको माग  परीक्षार्थीहरू रमन यादव, गोविन्द मण्डल, कविता चौधरी, निल कमल कुमारी, विरेस यादव, संन्जिव यादवले राखेका छन् । २२ मंसिरमा रिक्त रहेको शिक्षक पदपूर्तीको लागि लिएको परीक्षा निष्पक्ष नभएकोले पुनः परीक्षा राख्नुपर्ने उनले बताए । ‘शिक्षक पदपूर्तीको परीक्षा विधिसंगत भएको छैन । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष संयोजक रहेर परीक्षा हुनुपर्ने हो । तर, यहाँ भएन,’ परीक्षाार्थी विरेस यादवले भने, ‘वडाअध्यक्षको संयोजत्वमा परीक्षा भएको छ । यो विधीसंगत भएन ।’

सुनियोजित तरिकाले रिक्त रहेको पदपूर्तीमा आफ्नो मान्छे शिक्षक नियुक्ति वडाअध्यक्षले गरेको आरोप लगाउँदै उनले पुनः परीक्षा हुनुपर्ने माग राखेका छन् । ‘शिक्षा नियमवली अनुसार विधि र प्रक्रिया अनुसार परीक्षा हुनुपर्दछ,’ उनले भने, ‘प्रक्रिया पुरा नगरी भएको शिक्षक नियुक्ति मान्य हुनेछैन । हामीले विज्ञ टोली राखेर निष्पक्ष र भयरहित बातवरणमा परीक्षा हुनुपर्दछ ।’

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शम्भू प्रकाश ऋषिदेव उपस्थिती नभएपछि विराटनगर १८ का वडाअध्यक्ष जितेन्द्र कुमार शाहको संयोजत्वमा परीक्षा भएको थियो । परीक्षाबाट उत्कृष्टको आधारमा एलिना सिंह, सरस्वती राजवंशी र कल्याणी मण्डललाई नियुक्त गरेको छ ।

उनीहरू मध्ये सिंह राहतका शिक्षक हुन् भने राजवंशी र मण्डल करारका हुन् । उनीहरूलाई विराटनगर महानगरपालिकाले आइतबार नियुक्त गरेको छ ।

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाबाट विज्ञ टोली ल्याएर परीक्षा गराएर उत्कृष्ट हुनेलाई नियुक्ती भएको विद्यालयका प्रधानध्यापक राजिव कुमार यादवले बताए । ‘परीक्षाको मिति तय गरेपछि शिक्षा महाशाखाले उत्कृष्टको आधारमा शिक्षक नियुक्त गरेको हो,’ उनले भने । 

विराटनगर १८ का वडाअध्यक्ष जितेन्द्र कुमार साहले आफु विद्यालयको पदेन सदस्य भएको र वडाअध्यक्ष विरामी भएको भन्दै अनुपस्थीत भएको कारणले आफु संयोजक रहेर शिक्षक पदपूर्तीको लागि परीक्षा गराएको बताए । ‘परीक्षामा संयोजक रहेको हो,’ उनले भने, ‘यसको व्यवस्थापन सम्पूर्ण विद्यालय र शिक्षा महाशाखाले गरेको हो ।’ शिक्षक नियुक्त निष्पक्ष र पारर्दशी तरिकाले उत्कृष्ट हुनेलाई राखिएको उनले बताए । शिक्षक नियुक्तमा कुनै पनि चलखेल नभएको बताए । 

यता विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख दुर्गा प्रसाद खतिवडाले परीक्षाको लागि विज्ञको टोली माग गरेपछि परीक्षा भएको र उत्कृष्ट नतिजा ल्याउनेलाई छनौट गरिएको बताए । ‘दुई वर्षदेखि पदपूर्ती हुन नपाउँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या रहेको थियो,’ उनले भने, ‘विद्यार्थीको पठनपाठनमा सहज पु¥याउन विधी र प्रक्रिया पुरा गरेर शिक्षक नियुक्त भएका छ ।’


विराटनगर १८ स्थित श्री राम आधरभूत विद्यालयमा शिक्षक नियुक्तिको लागि पुनः  परीक्षाको माग राख्दै भेला भएका परीक्षार्थी र अभिभावकहरु ।  तस्बिर ः ब्लाष्ट अनिल श्रेष्ठ