भद्रपुर । हल्दिबारी गाउँपालिका वडा नं ४ को कालीमन्दिर टोलमा आइतबार विहान करिब सवा दुइ बजे चारकोशे जङ्गल जलथलबाट निस्किएका जङ्गली हात्तीको आक्रमणमा परि ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा हल्दिबारी ५ का ५५ वर्षिया गौरादेवी पौडेल, सोही ठाउँका ६० वर्षिया नगेन्द्र पौडेल, अन्दाजी ४५ वर्षिया पार्वतादेवी पौडेल र अन्दाजी ४० वर्षिय चेतन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

दुई परिवारका चार सदस्य घाइतेहरुको मेची प्रादेशिक अस्पताल भद्रपुर र वि एण्ड सी विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय जय प्रकाश दाहालको अन्दाजी १ बिगाहको धान पुर्ण रूपमा क्षति गरेको छ भने विजय लावतीको थ्रेसर लगाएको धान करिब ६ मन जति खाएर छरछार गरेको स्थानीय प्रलाद सिलवालले जानकारी दिए । त्यसैगरी हात्तीले धनबहादुर गहतराजको अटोमा समेत हात्तीले क्षति पुर्याएको छ ।

दाहालको खमारमा रहेको अन्दाजी १ बिगाहको कुन्युको धान पुर्ण क्षति गरेको र सो अवस्थामा हात्ती गाउँमा पस्ने देखेर गाउँलेले प्रहरीको सहायतामा हात्ती नियन्त्रण गर्ने र बस्तीको संरक्षण गर्ने क्रममा हात्तीले लखेटेर भागदौड हुँदा घाइते भएका जलथल प्रहरी चौकीले जनाएको छ । केही वर्षयताबाट झापाका दक्षिणी क्षेत्रमा हात्तीले दैनिक आतङ्क मच्चाउदा यो क्षेत्रका जनता समस्यामा परेका छन् ।