सुनसरी । सुनसरी जिल्लामा विगत एक वर्षको अवधिमा ८७ वटा बलात्कारका घटना भएको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको तथ्याङ्कअनुसार २०७८ पुस १७ गतेदेखि मङ्सिर २२ गतेसम्मको ११ महिनाको अवधिमा सो घटना भएको हो ।

इन्सेकले शुक्रबार नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम आयोजना गर्दै सो जानकारी गराएको हो । मानवअधिकारसँग जोडिएका विषयमा इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवले सार्वजनिक गरेको सन् २०२२ को जनवरीदेखि नोभेम्बर ८ सम्म जिल्लामा अभिलेखीकरण गरिएका घटनामाथि सरोकारावालाबीच समीक्षा गरिएको थियो ।

२०७८ पुस १७ गतेदेखि मङ्सिर २२ गते सम्मको ११ महिनाको अवधिमा जिल्लामा हत्याका १२ वटा, बलात्कारका ८७ वटा, बलात्कार प्रयासका ३१ वटा, बहुविवाहका २४ वटा, मानवबेचविखन तथा ओसार–पसारका पाँचवटा, बाल यौन दुव्र्यवहारका २० वटा र बाल बिज्याइँका १० वटा घटना अभिलेखीकरण गरिएको इन्सेक सुनसरीले जनाएको छ ।

जिल्ला प्रतिनिधि यादवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा नेपालमा १० वर्षे सशस्त्र द्वन्द्व, जनआन्दोलन र त्यसयता विभिन्न आन्दोलनका प्राप्त उपलब्धिहरूबाट नागरिकलाई जसरी अनुभूति दिलाउनु पर्ने थियो, त्यसरी दिन नसकिएको उल्लेख गरिएको छ ।

राजनीतिक अस्थिरता कायम रहेकाले नागरिकले विधिको शासन, सुशासन र पूर्ण लोकतन्त्रको समेत महसुस गर्न नपाएको स्थिति यथावत् रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । शासन प्रणाली परिवर्तन भई केही विकासको क्रम बढेको भए पनि नैतिकता, इमान्दारिता, सुशासन र जवाफदेहिताको अभावले मानवअधिकारको अवस्था नाजुक रहेको इन्सेक सुनसरीले उल्लेख गरेको छ ।

समीक्षा कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरीका सचिव वीरेन्द्रकुमार साहले नागरिकको मानवअधिकारको पूर्ण अनुभूतिका लागि राजनीतिकरूपमा पनि सचेतना र सहकार्य आवश्यक रहेको बताए ।

साहले लागूऔषधका घटना र त्यसमा बालबालिकाहरूको बढ्दो सक्रियता समयमै न्यूनीकरण गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ज्येष्ठ नागरिक सरोकारका इनरुवा संयोजक नवीनचन्द साहले गाउँमा अझै पनि छोरीलाई शिक्षा राम्रोसँग दिन नसकेको घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकले ध्यान दिनुपर्नेमा सुझाव दिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दलकुमार राईले नेपाल प्रहरी अपराध न्यूनीकरण गर्न र दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउनका लागि प्रतिबद्ध भएर काम गर्दै आएको बताए । उनले नेपाल मानवअधिकार वर्ष पुस्तक दस्तावेज भएका कारण कतिपय अवस्थामा पीडितले वर्ष पुस्तकमा अभिलेखीकरण गरिएका घटनाबाट पनि पीडितले न्याय पाएको बताए ।

नागरिक समाजका जिल्ला अध्यक्ष पुरुषोत्तम घिमिरेले नेपाल मानवअधिकार वर्ष पुस्तकले देशको मानवअधिकारको अवस्था चित्रण गर्ने र त्यसमा सुनसरीको पनि रिपोर्ट राम्रो जानुपर्ने धारणा राखे । महिला अधिकारकर्मी विनिता दाहालले मानवअधिकार उल्लङ्घनका घटना हुन नदिन नेपाल प्रहरी, नागरिक समाज र राजनीतिक दलहरूले सदैव प्रयास र प्रयत्न जारी राख्नुपर्ने आवश्यकता रहेको बताइन् ।