विजयपुर । धरान—१८ सुन्दर बजारस्थित एक घरमा आगलागी हुँदा २ करोड ५० लाख क्षति भएको छ ।
शुक्रबार राति धरान–१८ सुन्दर बजारस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूल प्रवेशद्वारअघि एक घरमा आगलागी हुँदा चारकोठे एक घरसहित ३ औषधि पसल जलेर नष्ट हुँदा २ करोड ५० लाख रुपैयाँ बराबर क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आगलागीबाट मिनु बान्तवाको मिनु बान्तवा होटलको ३० लाख रुपैयाँ, लक्ष्मण खड्काको निको ट्रेड सप्लायर्स र निको मेडिकल पसलको १ करोड २० लाख रुपैयाँ र अरुण साहको फ्रेन्ड्स फार्मेसीको ९० लाख रुपैयाँ बराबरको औषधि क्षति पुगेको हो ।
आगलागी भएको घर महेश तामाङको हो । धरान उपमहानगरको दुइटा दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि इटहरी र वराहक्षेत्रबाट पनि दमकल बोलाइएको थियो ।
८ वटा बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिएको छ ।