विजयपुर । फोटो पत्रकार लक्ष्मण थापा पुरस्कृत भएका छन् । शनिबार फोटो पत्रकार थापा गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । थापालाई नेपाली काङ्ग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले पुरस्कार प्रदान गरे । ५१ वर्षीय पत्रकार थापाले २०५७ सालदेखि फोटो पत्रकारिता गर्दै आएका छन् ।
धरानबाट प्रकाशित डेली मर्निङ पोष्टबाट पत्रकारिता सुरु गरेका उनले काठमाडौंबाट प्रकाशित हुने स्पेस टाइम्स, राजधानी दैनिक, विश्वदीप साप्ताहिकमा काम गरेका थिए ।
नेपाल प्रेस युनियन र नेपाली काङ्ग्रेस धरान नगरसमितिले प्रदान गर्दै आएको उक्त पुरस्कार धरानका निवर्तमान नगर प्रमुख तिलक राईले स्थापना गरेका हुन् । राईले नगरबाट पाउने तलब, भत्ता, सुविधाको रकमबाट २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
नेपाली काङ्ग्रेस सुनसरीका संस्थापक सचिव, प्रेस युनियन सुनसरीका संस्थापक धरानका अग्रज पत्रकार गिरिराज आचार्यको सम्मानमा पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेका हुन् ।