बेलबारी । बेलबारी नगर प्याब्सनद्वारा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने बेलबारीका ९ जना व्यक्तिलाई सम्मान गरेको छ ।
शनिबार निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन मोरङ बेलबारी नगरको तेस्रो वार्षिक साधारणसभाका अवसरमा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, सञ्चार क्षेत्रको माध्यमबाट समाजमा विशिष्ट योगदान गरेको भन्दै बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेत, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भूपेन्द्र कोइराला, प्याब्सन प्रदेश १ का अध्यक्ष टीकाराम ढकाल, सिंहदेवी एकेडेमी बेलबारी–८ का सञ्चालक रविन थापा, बेलबारी अपाङ्गता सेवा सङ्घका अध्यक्ष दिनेश कोइराला, बालजगत ई. स्कुलमा लामो समयदेखि शिक्षण पेशामा संलग्न रामप्रसाद खनाल, भानु शैक्षिक सार्वजनिक गुठीका शिक्षिका झलकुमारी ढकाल र २०७८ को एसईईमा निजी विद्यालयबाट सर्वाधिक अङ्क ल्याउने विद्यार्थी समिर भट्टराईलाई दोसल्ला र सम्मान–पत्रका साथ सम्मान गरिएको थियो ।
प्याब्सन बेलबारीका अध्यक्ष भगवतीप्रसाद घिमिरेको अध्यक्षता, नगरप्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्य, शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला, प्याब्सन प्रदेश १ का अध्यक्ष टीकाराम ढकालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्याब्सन जिल्ला सचिव जगत बस्नेत, सदस्य तेजबहादुर खत्री, बेलबारी–३ का अध्यक्ष योगेन्द्र सुवेदीलगायत विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहेका थिए ।
कार्यक्रममा अध्यक्ष घिमिरेले साङ्गठनिक गतिविधि र भावी योजना प्रस्तुत गरेका थिए । कार्यक्रम प्याब्सन नगर सचिव विनोद भण्डारीले सञ्चालन गरेका थिए ।