भद्रपुर । झापाका ४४ जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छन् । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरुले आफ्नो चुनावी खर्च विवरण बुझाउनु पर्ने प्राबधान रहेकोले शुक्रबारसम्म ४४जना उम्मेदवारहरुले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिनिधि  तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएकामध्ये हालसम्म ४४ जनाले खर्च विवरण बुझाइसकेको सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए ।

 म्यादभित्र नबुझाए निर्वाचन आयोगले जरिवाना गर्ने गरेको उनको भनाइ  छ । मङ्सिर ४ को निर्वाचनमा झापाका ५ वटा क्षेत्र र १० वटा प्रदेश क्षेत्रबाट १९२ जनाले उम्मेदवारी दिएका थिए । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुले खर्च विवरण बुझाउन सुरु गर्दैगर्दा स्थानीय तह निर्वाचनका उम्मेदवारहरुले अझै खर्च विवरण बुझाएका छैनन् ।

स्थानीय तह निर्वाचनका ८० प्रतिशत उम्मेदवारहरुले खर्च विवरण अझै नबुझाएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी २ हजार ८ सय ६३ जनाले उम्मेदवारी दिएका थिए ।