विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् ।
सचिवालयमार्फत् विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाइलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल महानगर फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने गरी जथाभावी निर्माण गरिएका पसलअगाडिका संरचना हटाउने अभियानमा केन्द्रित भएको मेयर कोइरालाले बताएका छन् ।
सरसफाइमा जस्तै फुटपाथ खाली गर्ने र अवैध संरचना हटाउने अभियानमा पनि विराटनगरवासी र व्यापारीको अत्यन्तै राम्रो सहयोग रहेको मेयर कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
मेयर कोइरालाले विराटनगर अब यथास्थितिमा बस्न नसक्ने पनि प्रष्ट्याएका छन् । विराटनगरको चौतर्फी विकासका लागि गम्भीरताका साथ लागिपरेको उनको भनाइ छ । विकासका लागि स्रोतको खोजीमा लागेको उनले बताए । सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर बढीभन्दा बढी बजेट ल्याउन आफू लागिपरेको कोइरालाले उल्लेख गरेका छन् ।
भौतिक संरचनाको निर्माण पनि योजनाबद्धरूपमा अगाडि बढाइरहेको केही ठूला योजनाहरू ठेक्का प्रक्रियामा रहेको उनले विज्ञप्तिमार्फत् जानकारी गराएका छन् । ‘भावीपुस्ताले गर्व गर्नलायक विराटनगर बनाउने सङ्कल्पका साथ अघि बढेका छौं ।
सम्भावना नदेखेर पलायन भएकाहरूलाई पनि विराटनगरमा पुनः फर्किने वातावरण सिर्जना गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ’ कोइरालाले भनेका छन्, ‘महानगरवासीको साथ र सहयोग विना हामीले लिएको लक्ष्य पूरा गर्न असम्भव छ ।
हामी पाँच वर्षपछि महानगरको जिम्मेवारीबाट बिदा हुँदै गर्दा अहिलेको छैठौं होइन, विगतकै साखलाई फर्काएर दोस्रो महानगर अर्थात् सहर बनाउने प्रण गर्दछौं ।’ महानगरको सौन्दर्यीकरणका लागि फुटपाथ नियन्त्रण र जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सबै वडामा सञ्चालन गरिनेसमेत उनको भनाइ छ ।