विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन् । 

कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोइरालाले चुनावमा होमिएको गठबन्धनमा आवद्ध दालहरू मिलेर सरकार बन्ने बताएका हुन् । उनले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहित आवश्यकता अनुसार अन्य दललाई गठबन्धनमा ल्याएर कांग्रेसले सरकार बनाउने बताए ।

उनले सरकारको नेतृत्वको विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतका साथीहरुसँग छलफल गर्ने बताए । ‘कसैले प्रधानमन्त्री बन्ने चाहना राखेर मात्रै हुँदैन त्यसका लागि नम्बरको गेम हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ,’ उनले भने, ‘संसदीय दलको नेतामा जसले नम्बर पु¥याउँछ उसैले सरकारको नेतृत्व गर्छ र त्यसका लागि काठमाडौं जाँदै छु, साथीहरुसँग कुरा गर्छु ।’ अहिले निर्वाचित कांग्रेसका सांसदहरुमा सभापति देउवा पक्षकै बढी रहेको तर यस विषयमा सभापतिसँग कुरा गर्ने उनले सुनाए ।

सुशासन बिना अब देश चल्न सक्दैन त्यसैले देशमा सुशासन दिनु अति आवश्यक र भ्रष्टाचार न्यूनीकरण गरिनुपर्ने बताए । ‘जनताको चाहना अनुसार काम नभएको अवस्थामा हामीले सदन र सदन बाहिर दुवै ठाउँबाट आवाज उठाउँछु,’ उनले भने, ‘त्यसका लागि सरकारको नेतृत्व पुस्तान्तरण गर्न नम्बर गेम आवश्यक रहेकाले साथीहरुसँग छलफल गरिनेछु ।’

धर्म संस्कृतिको संरक्षण गर्न सकेमात्र देश र समाज सभ्य हुने र देश उभो लाग्ने उनको भनाइ थियो ।