विराटनगर । विराटनगर महानगरपालिकाले आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी ६ दिने तालिम सम्पन्न गरेको छ ।

तालिममा काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक एवम् वारुणयन्त्रसम्बन्धी विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा आगलागी नियन्त्रणसहित उद्धारका उपायका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महानगरका कार्यवाहक मेयर प्रकाश साहले समापन समारोहलाई सम्बोधन गर्दैतालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । उनले तालिममा प्रशिक्षार्थीहरूले अग्नि नियन्त्रणका उपाय, घाइतेको उद्धार, स्वास्थ्य संस्थासम्म कसरी पु¥याउने भन्ने विषयमा जानकारी पाएको बताए ।

त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडा, विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, तालिमका मुख्य प्रशिक्षक किशोरकुमार भट्टराईलगायतले तालिमको महत्व, उद्देश्य र प्रभावकारिताका विषयमा चर्चा गरेका थिए ।

तालिममा महानगर प्रहरी र वारुणयन्त्रका २० जना कर्मचारी सहभागी भएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । यसअघि दमकलका कर्मचारीले अग्नि नियन्त्रणको तालिम अरू नै ठाउँमा गएर लिने गरेका थिए ।

यसैबीच समापनअघि आगलागी नियन्त्रण, उद्धार गर्दा अपनाइने विधि प्रदर्शन गरिएको थियो । त्यस्तै ग्यासमा आगलागी भएमा कसरी निभाउने भन्ने विधि पनि सिकाइएको थियो । अग्नि नियन्त्रण र उद्धारको अभ्यास हेर्न पोखरिया उच्च माविसहित विभिन्न विद्यालयका विद्यार्थीसमेत उपस्थित भएका थिए ।