विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा कृषिथोक बजारमा रोजगार मेला हुने भएको छ । आज (सोमबार) बिहान ९ बजेबाट साँझ ४ बजेसम्म रोजगार मेला सुरु हुने भएको हो ।

कटहरी गाउँपालिकाको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को समन्वयमा रोजगार मेला आयोजना गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

रोजगार मेलामा रोजगारदातासँग रोजगार खोजिरहेका युवाहरूलाई जोड्ने लक्ष्य राखिएको छ । रोजगारको खोजीमा रहेका युवाहरूले यहाँ सहभागी हुँदा रोजगारदातासँग प्रत्यक्ष संवाद गर्न र आफ्नो अनुभव तथा क्षमतामार्फत् छनौट हुन पाउने अवसर प्राप्त गर्ने कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।

रोजगार मेलामा सीप र दक्षताअनुसार बेरोजगार युवाहरूले रोजगार पाउने उनले बताए । एक दिने मेलामा २ हजार ५ सय जनाको सहभागिता रहनेछ ।

‘बेरोजगार युवाहरूले विभिन्न उद्योग तथा व्यवसायमा रोजागरी प्राप्त गर्नेछन् । उद्योगी तथा व्यवसायीहरूको उपलब्ध जनशक्तिबारे जानकारी पाउनेछन्’ उनले भने, ‘रोजगार मेलामा तीन दर्जन बढी उद्योगका प्रतिनिधिहरूको प्रत्यक्ष रूपमा सहभागिता रहनेछ ।’ कटहरी गाउँपालिकाभित्र ६५ वटा उद्योग रहेका छन् ।