बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सुपथ मुल्यको सहकारी पसलबाट आफ्ना सदस्यलाई उधारो सुविधा उपलब्ध गराउन थालेको छ । सहकारीले झापा र इलाममा रहेका पसलबाट सदस्यलाई उधारो सुविधा उपलब्ध गराउन थालेको हो ।

सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारीबाट सामग्री लगेको उधारो एक महिनासम्ममा तिर्नुपर्ने बताए । एक महिनासम्ममा उधारो नतिरे २४ प्रतिशत ब्याज असुल गर्ने बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

३० औं बार्षिक साधारणसभाको सार्वजनिक भएको प्रतिवेदनमा २०५० सालमा स्थापना भएको सहकारीको हाल कूल सम्पति ११ अर्ब ९९ करोड ६१ लाख ६५ हजार रहेको उल्लेख छ । संस्थाको शेयर सदस्य एक लाख ३५ हजार र शेयर पूँजी एक अर्ब ३५ करोड ५८ लाख ९५ हजार  रहेको संस्थाका सञ्चालक समिति अध्यक्ष उप्रेतीले बताए ।

कार्यक्रममा सहकारीले हाल पाँच वटा व्यवसाय सञ्चालन गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले बचत तथा ऋणको कारोवार, डेरी उद्योग, एकीकृत नमूना कृषि फर्म र चिया उद्योग सहकारीले सञ्चालन गर्दै आएको बताए ।

सहकारीले हाल कर्पोरेट कार्यालयमा ५९ जना, वित्तीय व्यवसायमा ७६६ जना, डेरी व्यवसायमा ७५ जना, एकीकृत नमूना कृषि फर्ममा ५४ जना, सहकारी पसल व्यवसायमा १२६ जना र चिया व्यवसायमा ४८ गरी एक हजार १२५ जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले मंसिर १८ गतेदेखि क्षेत्रगत रुपमा साधारणसभा गरी पुस २ गते फाइनल माइन्यूट प्रमाणित कार्यक्रम गरिने बताए । बरिष्ट उपाध्यक्ष नारायण कोइरालाको अध्यक्षमा भएको कार्यक्रममा स्वागत मन्तव्यसहित प्रतिवेदन साधारणसभा अघि नै सार्वजनिकरण गर्नुको बारेमा उपाध्यक्ष भवगती घिमिरेले धारणा व्यक्त गरेकी थिइन् । संस्थाका सञ्चालक समितिहरुको उपस्थितिमा समेत रहेको कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी निर्देशक लक्ष्मी उप्रेतीले गरेका थिए ।