गणना विवादका कारण रोकिएको सुनसरी ४ को गणना सुरु हुन सकेको छैन। विवाद समाधानका लागि सर्वदलीय बैठक बसे पनि  सहमति जुट्न भने सकेको छैन ।

केही बेर अघि सम्पन्न बैठक बिना निष्कर्ष टुङ्गिएको छ । केही बेरमा पुनः बैठक बस्ने बताइएको छ । बैठकमा नेपाली काँग्रेसले गणनामा धाँधलीको आशङ्का गर्दै पुनः मत गणनाको माग दोहोर्‍याउँदै आएको छ ।

सर्वदलीय बैठक डाकी मध्यमार्गी बाटो खोज्ने प्रयास भएको भए पनि  सहमति भने जुट्न सकेको छैन । काँग्रेस उमेदवार तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गणना प्रक्रियामा कर्मचारीको हेलचेक्र्याइँ देखिएकाले समग्र परिणाम प्रति नै आशङ्का जताएका छन् । काँग्रेसले पुनः मत गणनाको अडान राख्दै आएको छ ।

यता एमाले उमेदवार जगदीश प्रसाद कुसियैतले भने काँग्रेसको आरोप निराधार रहेको बताएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै मत गणना र सुरक्षा व्यवस्थामा चुक नभएको बताएकाले गणना रोकिनु नहुने बताएका हुन् । उनले कार्कीले हारको डरले बखेडा झिक्न खोजेको बताए । कुसियैतले आफूहरू कानुनी रूपमा अघि बढ्न तयार रहेको भन्दै विपक्षीलाई समेत सोको पालनामा अडिग रहन सुझाव दिएका छन् ।

यता मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद अधिकारीले सर्वदलीय बैठकले सहमतिको प्रयास गरिरहेको  बताए । उनले गणनामा असहजता देखिएकाले मत गणना रोकिएको जानकारी दिँदै सर्वदलीय  बैठकको निर्णय बमोजिम अघि बढ्ने बताए ।

मुख्य निर्वाचन अधिकृत अधिकारीले विवादका रूपमा रहेको वराहक्षेत्र ८ को  ६०६ मत स्थानीय अपडेटमा कर्मचारीको त्रुटिका कारण दोहोरो गणना हुन पुगे पनि आयोगको मूल डाटामा इन्ट्री तथा पोस्टिङ नभएकाले गणना विवरणमा आशङ्का  गर्ने ठाउँ नरहेको प्रस्ट्याएका छन् । उनले उम्मेदवार बिच सहमति गरी गणना सुचारु गर्ने प्रयास भइरहेको बताए ।