मोरङ । विराटनगरको सौन्दर्यीकरण वृद्धि गर्न र आम सर्वसाधारणलाई आवत–जावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ ।
महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको हो । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो ।
सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । पसलको सटरभन्दा बाहिर नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो । पसलबाहिर राखेका किरानाका सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाएको छ ।
अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिबाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ । ‘विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौं’ मेयर नागेश कोइरालाले भने, ‘हामीले दुई–दुईपटक सार्वजनिक रूपमै सूचना प्रकाशित गरेका थियौं । विराटनगरलाई सुन्दर बनाउनु व्यापारीहरूको पनि कर्तव्य हो । उहाँहरूलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।’
यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्य वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । महानगरले फुटपाथ खाली गरेर बजारको सौन्दर्यीकरण बढाउने अभियान सकारात्मक भएको भन्दै व्यापारीहरूले खुसी व्यक्त गरेका छन् । तर, उनीहरूले महानगरले सबैलाई नियम बराबरी लगाउनुपर्नेमा जोड दिएका छन् ।
व्यापारीले सामान हटाउनका लागि केही दिन समय दिन पनि महानगरसित आग्रह गरेका छन् । ‘महानगरको यो अभियान एकदमै राम्रो छ, तर कसैका सामान हटाउने र कसैका नहटाउने गर्नु हुँदैन । नियम सबैलाई समान हुनुपर्छ’ स्थानीय व्यापारी शङ्कर साहले भने, ‘सामान हटाउन केही दिन समय पनि दिनुपर्छ ।’
नगर प्रहरी निरीक्षक पौडेलका अनुसार पहिलो पटकका लागि महानगर प्रहरी आफैले सामान भित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गरिनेछ । महानगरले दुईपटक सार्वजनिकरूपमै सूचना प्रकाशित गरेको र माइकिङ गरेर हटाउन आग्रह गर्दा पनि अटेर गरेका कारण हटाउन सुरु गरिएको पौडेलले बताए ।
नगर प्रहरीले नियन्त्रणमा लिएका सामान वीरेन्द्रसभा गृहछेउमा रहेको इको पार्कमा लगेर राख्ने गरेको छ । नियन्त्रणमा लिएका सामान व्यापारीहरूले जरिबाना तिरेर लिएर जाने गरेका छन् । महानगरको अभियानमा साथ दिने खुद्रा व्यापार सङ्घका अध्यक्ष सञ्जयकुमारसिंह मण्डलले बताए । उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।