विराटनगर । मोरङको क्षेत्र ४(२) बाट नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पराजुलीले ११ हजार ४ सय ७९ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा (एमाले)का नेता जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९ सय ३५ मत पाए ।

१ हजार ७ सय ८८ मतअन्तरले पराजुलीले जित निकालेका हुन् । यो जितसँगै पराजुली प्रदेशसभामा संसद् भवन प्रवेश गर्न  सफल भएका छन् । पराजुली विराटनगर महानगरपालिकाका पूर्व मेयर पनि हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकाललाई हराउँदै विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । त्यसबेला उनले एमाले नेता ढकाललाई ५ हजार ५ सय १० बढी मत प्राप्त गरेर मेयर भएका थिए । त्यसबेला पराजुलीले २३ हजार ३१ मत प्राप्त गरे भने ढकालले १७ हजार ३ सय २१ मत पाएका थिए ।

यस्तै मोरङको क्षेत्र नं. ६(२) मा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता केदार कार्की विजयी भएका छन् । कार्कीले १० हजार ४ सय ५० मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

कार्कीले नेकपा (एमाले) का नेता पर्शुराम बस्नेतलाई १ हजार १ सय ७७ मतअन्तरले पछि पार्दै प्रदेशसभामा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बस्नेतले ९ हजार २ सय ७३ मत पाए । कार्कीले सुरुवातदेखि अग्रता कायम गरेका थिए । मोरङ क्षेत्र नं. ६ मा १२ वटा वडा पर्दछन् । यस वडामा विराटनगरको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा पर्दछन् । विराटनगर–११ बाहेक कार्कीले सबै वडामा अग्रता कायम गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । बस्नेतले आफ्नो घर भएको वडा विराटनगर–११ नम्बर वडामा मात्र अग्रता कायम गरेका थिए । 

को हुन् भीम पराजुली ?

भीम पराजुलीले अहिलेसम्म पराजयको स्वाद चाखेका छैनन् । विद्यार्थी सङ्गठनबाट राजनैतिक आरम्भ गरेका पराजुली नेविसङ्घको अध्यक्ष भए । त्यो यात्रालाई उनले क्याम्पसमा पुग्दा थप सशक्त बनाए । महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापतिको उम्मेदवार बनेर प्यानलै विजयी गराएका पराजुलीको राजनीतिक छवि निकै प्रभावशाली छ ।

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी जति हठी छन्, उत्ति नै सामाजिक र मिलनसार पनि छन् । पराजुली नयाँ पुस्तामा मात्रै होइन, अघिल्लो पुस्ताका लागि पनि रुचाइएका नेता हुन् । नेपाली काङ्ग्रेसको नगर सभापतिमा दोस्रोपटक निर्वाचित उनी यो पदमा अत्यधिक मतले विजयी भएका थिए । नेपाली काङ्ग्रेसको राजनीतिमा रहेका पराजुली प्रभावशाली स्थानीय नेताका रूपमा जनतामाझ चिनिएका छन् ।

पराजुली राजनीतिक रूपमा मात्रै नभएर दर्जन बढी सामाजिक सङ्घ–संस्थामा पनि संलग्न छन् । २०६२÷६३ को जनआन्दोलनमा अग्र मोर्चामा उभिएका पराजुली करिब साढे तीन महिना जेल परेका थिए । राजधानी केन्द्रित आन्दोलनमा उनी पटक–पटक धरपकडमा परेका थिए ।

२०३१ चैत २० गतेका बुबा स्व.तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका भीम पराजुली नेपाली काङ्ग्रेसका सशक्त युवा नेताका रूपमा चिनिँदै आएका छन् ।