भद्रपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली साढे २८५७६ मतान्तरले विजयी भएका छन् ।

झापा क्षेत्र नं ५ बाट अध्यक्ष ओली ५२ हजार ३१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार ७४३ मत पाए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ४४८ मत पाए ।  त्यसैगरी नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

महामन्त्री शर्मा भारी मतान्तरले विजयी भएका हुन् । उनको जितसँगै झापामा प्रतिनिधिसभा सदस्यतर्फ काँग्रेसले पहिलो खाता खोलेको छ । उनले एमालेको लालकिल्ला तोड्न समेत सफल भएका छन् ।

गठबन्धनबाट साझा उम्मेदवार बनेका शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् । शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्दा खरेलले २५ हजार ३ सय ४९ मत पाएका छन् । उनी तेस्रो पटकमा सांसद बनेका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा पहिलो पटक काँग्रेसबाट उम्मेदवार बनेका शर्मा एमालेका रविन कोइरालासँग पराजित भएका थिए ।

त्यस्तै २०७४ सालको आम निर्वाचनमा उनी माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए । ह्याट्रिक उम्मेदवारी दिएका उनी यस पटक संसद् भवन छिर्ने भएका छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाईँ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् ।

झापा क्षेत्र नम्बर १ (२) मा एमालेसँग चुनावी तालमेल गरी प्रदेशसभा सदस्यमा उठेकी बजगाईँले माओवादी केन्द्रका श्यामवीर लिम्बूलाई १ हजार ३८८ मतान्तरले पराजित गरेकी हुन् । बजगाईँले १३ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी लिम्बूले १२ हजार २२४ मत पाएका छन् । लिम्बू गठबन्धनका साझा उम्मेदवार बनेका थिए । उनले हारेपनि काँग्रेसका दुवै उम्मेदवार झापा १ बाट निर्वाचित भएका छन् । त्यस्तै झापा क्षेत्र नं १(१) मा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यमा गोपाल तामाङ बिजयी भएका छन् ।

एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन् । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे ।

कूल ४८ हजार ७९९ मतमध्ये तामाङलाई करिब ५० प्रतिशत मत प्राप्त भएको जनाइएको छ । त्यसैगरी नेकपा (एमाले) प्रदेश कमिटी सचिव तिलचन पाठक (चिन्तन) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

झापा क्षेत्र नम्बर २ (२) मा राप्रपासँग चुनावी तालमेल गरी उम्मेदवार बनेका पाठकले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८४० मतान्तर पराजित गरेका हुन् । मैनाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए ।

पाठकले २० हजार १ सय ८४ मत प्राप्त गरेका छन् भने मैनाली १६ हजार ३ सय ४४ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार अनिरुद्र तिम्सिनाले २६१४ मत ल्याएका छन् । पाठक एमाले प्रदेश १ कमिटी सचिव हुन् भने पराजित मैनाली कांग्रेस क्षेत्रीय सभापति हुन् । पाठक २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा उठेका थिए । त्यसबेला उनलाई काँग्रेसका रमेश भुजेलले पराजित गरेका थिए । त्यसैगरी नेकपा एमालेका एकराज कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।  कार्कीले दोस्रो पटक प्रदेशसभा सदस्य दोहोराएका हुन् । 

राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गरेका हुन् । 

कार्कीले १८ हजार ७३१ मत ल्याएका छन्, भने पोखरेलले ६ हजार १०१ मत ल्याएका हुन् । भद्रपुर ७ निवासी पोखरेल झापा क्षेत्र ३ छाडेर गठबन्धनबाट क्षेत्र २ मा उठेका थिए । कार्कीको स्थायी बिर्तामोड ८ हो  । यता नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले झापा ३(१) मा निवर्तमान सांसद बसन्त बानियालाई पराजित गरेका छन् ।

राजवंशी २० हजार ७७० मत ल्याई प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बानियाले १९ हजार ७०१ मत ल्याएका छन् । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका मदनहाङ्ग तावाले १०१७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अम्बरबहादुर लिम्बुले ५५१ ,जनमत पार्टी देवकुमार चौधरीले ४३६ ,स्वतन्त्र हेमलाल भट्टराईले ४०९ ,स्वतन्त्र जमालुदिन मियाले १७३ मत ल्याएका छन् ।

२०७४ को निर्वाचनमा बानियाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट साझा उम्मेदवार बनेर निर्वाचन लडेका थिए भने राजवंशी एक्लै काँग्रेसको उम्मेदवार थिए । त्यस निर्वाचनमा बानियाले २२ हजार ५५३ मत ल्याउँदा राजवंशीले १७ हजार ५ मत पाएका थिए ।