भद्रपुर । निर्वाचनको मुखमा झापा क्षेत्र नं ३ का नेकपा माओवादी केन्द्रका जिल्ला सदस्यसहित १०६ जनाले सामूहिक राजीनामा दिएका छन् ।

प्रेस विज्ञप्ति जारी गरी झापा क्षेत्र नं ३ अन्तर्गत बाह्रदशी ४ र ५ मा स्थायी बसोबास गर्ने जिल्ला सदस्य कृष्णमोहन गौतमसहित १०६ जनाले राजीनामा दिएका हुन् । राजीनामा दिने अन्यमा क्षेत्र, गाउँपालिका, वडा र टोल कमिटीका सदस्य छन् ।

जनयुद्धका बेला प्रदान गरेको विभिन्न जिम्मेवारीलाई सकुशल रुपमा कुनै प्रकारको बेइमानी नगरी पार्टीको माथिल्लो निकायबाट प्राप्त नीति निर्देशनलाई शिरोधार्य गरी घरपरिवारमा दैनिक कार्यलाई थाँती राखी देश र जनताको मुक्तिका निम्ति संघर्ष गर्दै देशमा आमुल परिवर्तन गर्नका लागि खेलेको भूमिकालाई स्मरण गर्दै पार्टीको माथिल्लो नेतृत्वले गरेको वाचा तथा प्रतिबद्धतालाई कुल्चिएर जनयुद्ध र पार्टीको मुल सिद्धान्तलाई तिलाञ्जली दिएर अवसरको खोजीमा रहेका अवसरवादीहरुको चिल्ला र चिप्ला कुरामा पाटी नेतृत्व हिडेको र पटक–पटक अवसरवादीलाई नै काँधमा बोकेर हिँड्दाहिँड्दै आफूहरुको काँध थाक्दा समेत पार्टीभित्र रही आन्तरिक र वैचारिक संघर्ष गर्दा थाकी सक्दा पनि पार्टी नेतृत्व सुध्रिन कोसिस नगरी ठूलो दरार सिर्जना गरेको हुँदा यस पार्टीमा कुनै प्रकारको भविष्य नदेखेर पार्टीको साधारण सदस्य समेत नरहने गरी यसै विज्ञप्तिमार्फत राजीनामा दिएको उनीहरुले जनाएका छन् ।

सत्ता साझेदार गठबन्धनकातर्फबाट नेपाली काँङ्ग्रेसका पूर्व महामन्त्री तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला यो पटकपनि वाम गठबन्धनका तर्फबाट उम्मे‌दवार‌‌ बने‌का र‌‌ाष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष र‌‌ाजे‌न्द्रप्रसाद लिङ्दे‌नसँग भिड्दैछन् । उनीहरुबिच चौथो पटक  प्रतिस्पर्धामा पुनः देखिएपछि यो क्षेत्रमा सवैको चासो बढेर गएको छ ।  

क्षेत्र नम्बर ३ मा ६६ हजार ६१ पुरुष र ६५ हजार ३७१ जना महिला गरी कुल १ लाख ३१ हजार ४३२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रमा भद्रपुरका १० वटा वडामध्ये १ देखि ८ सम्म , हल्दीबारी, बाह्रदशी पुरै र विर्तामोडको १० नम्बर वडा परेको छ ।