वराहक्षेत्र । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा सुनसरी क्षेत्र नं. १ ‘ख’ लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदार मुक्साहाङ मेन्याङ्बोले प्रदेश १ को आर्थिक समृद्धिको लागि लाइफलाइन बनेको किमाथाङ्का–जोगबनी करिडोर गठबन्धनको प्राथमिकतामा रहेको बताएका छन् ।

चुनावी प्रचार–प्रसारको क्रममा वराहक्षेत्रका मतदातासँग घरदैलो साक्षात्कार गर्दै वडानम्बर २ मा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुक्साहाङले त्यस्तो बताएका हुन् ।

कार्यक्रममा मुक्साहाङले करिव ९० बुँदामा लेखिएको सङ्कल्प पत्र प्रस्तुत गरे । उनले आफूले बोलेरभन्दा गरेर देखाउने दाबी गर्दै धराने जनताको बहुप्रतिक्षित धरान विमानस्थल, धरान–लेउती खोलामा सुरुङ मार्गद्वारा तमोर करिडोर जोड्नेलगायत चतराको कुम्भलाई अन्तर्राष्ट्रियकरण, कोसी बाढीपीडित समस्या, चतरा धार्मिक सर्किट, सुकम्बासी, विभिन्न धार्मिकस्थल, विष्णुपादुका, चतरा, नडाहा, तीनकुने, बक्लौरीमा व्यवस्थित आधुनिक बसपार्क निर्माण गरिने बताए ।

धरानमा रात्रिकालीन खेलस्थल निर्माण, बहुभाषिक क्याम्पसलगायत धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक विकासको सङ्कल्प गर्दै सङ्घ र प्रदेशको विकास एवम् उन्नति बाम गठबन्धनले मात्रै गर्ने दाबी गरे ।

यसैगरी आइतबार वडानम्बर २ मा गरिएको उम्मेदवार र पत्रकार अन्तरक्रियामा प्रदेशसभा कार्यक्रममा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यतर्फ क्षेत्र नं. १ (ख) का उम्मेदवार रेवतीरमण राईले वराहक्षेत्रमा थारु सङ्ग्रहालय र यसैगरी वराहक्षेत्रको स्वास्थ्य क्षेत्रलाई अझ् उन्नत र विकसित बनाउून २५ शय्याको अस्पताल बनाइने दाबी गरे ।

तर, यी सबै जनताले दिने आशीर्वादले मात्र सम्भव भएकोले राईले सबै जनताले सक्रियता र उत्साहका साथ गठबन्धनलाई मतदान गर्न आह्वान गरे । खारखोलामा भएको अन्तरक्रियामा क्षेत्रको चुनाव परिचालन समिति सह–संयोजक पुष्प ढुङ्गाना, निवर्तमान प्रदेशसभा सदस्य उमिता विश्वकर्मा, नेपाली काङ्ग्रेस वडा नं. १ र २ का सभापति ईश्वर थापा, अमर कटुवाल यसैगरी एकीकृत समाजवादीका नगर अध्यक्ष चन्द्र थापा मगर, नेकपा (माओवादी केन्द्र) का नगर कोषाध्यक्ष लङ्कमान विकलगायतको उपस्थिति रहेको थियो ।

धरान–चतरा सडकको बगुवा र बाघखोलामा पुल बन्ने
सुनसरी जिल्लाको धरान–चतरा सडक–खण्डको चार स्थानमा पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको मदन भण्डारी लोकमार्ग आयोजना निर्देशनालयले धरान उपमहानगरको रेलवे खोलामा २० मिटर, ठकुरी खोलामा ३५ मिटर यस्तै चतराको बगुवा खोलामा ३० र बाघखोलामा ६० मिटर लम्बाइको पक्की पुल बनाइने बताएको छ । यसको लागि वातावरणीय अध्ययन प्रतिवेदन तयारी सम्बन्धी कात्तिक २० गते सार्वजनिक सूचना गरी प्रस्ताव माग गरेको छ ।