इनरुवा । संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की बिरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ । 

सरकारको प्रवक्ता समेत रहेका प्रतिनिधि सभा सदस्य तर्फ सुनसरी ४ को गठबन्धन उम्मेद्वार कार्की विरुद्ध नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो । 

जसपा नेता सहित मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमालेको सुनसरी ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले कार्की विरुद्धको आचारसंहिता उल्लंघनको उजुरी दर्ता गराएका हुन् । 

भीडभाड, सवारीसाधनको दुरुपयोग, सुरक्षा निकायको जम्बो उपस्थिति, स्थानीय जनप्रतिनिधिको खुलेआम प्रचार र काठमाण्डौंबाट मन्त्रालय मातहतका कर्मचारी समेत झिकाएर खुलेयाम चुनावी प्रचारमा खटाएका जस्ता बिषय समेटेर उजुरी दिइएको पोखरेलले बताए । 

उता एमालेको उजुरी बुझ्दै मूख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले परेको उजुरी उपर अध्ययन गरी अनुसन्धान प्रकृया अघि बढाउने बताएका छन् ।