चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ । आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ ।

किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् । पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन् । 

जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन् । उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यो पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ । इलाम सूर्योदयका जगन्नाथ सापकोटा भन्नुहुन्छ, “वर्षभरिको कमाइ यहीँ धान हो भकारीमा थन्क्याउन मौसमले नदेला की भन्ने मात्र पिर छ ।” पोहोर साल बिटा लगाउन ठिक्क पारेको धान झरी परेर बर्बाद पारिदिएको सम्झिदै उनले भने, “यो साल त बेलैमा धान भ्यिाउन पाए हुन्थ्यो ।”  

सापकोटालाई निर्वाचन नेताको लागी मात्र हो जस्तै लाग्छ । “चुनाव त नेताका लागी त रहेछ एकदिन भोट हाल्न जाउँला, जस्ले जितुन, काम कसैले गर्ने होइन क्यारे ।” उनले विसं २०४८ बाट निरन्तर मतदान गर्दै आएका छन् । “ म जस्ता हजारौँ किसानको दुख जस्ताको त्यस्तै छ । उनीहरु भोट जितेर जान्छन् हाम्रो दुःख हामीसँगै ।”

माईजोगमाईका रोशन दियालीको खेतमा समयमा नै मल नपाएर धान सधैँ जस्तो फलेको छैन । बेलामा मल लगाउन नपाएपछि धानको बाला कम लागेको गुनासो गर्दै दियाली भन्छन्, “उ त्याँ हेर्नुन्, धानको गुबो नै आउन सकेन । कमसेकम किसानलाई मल बीउविजन मात्रै बेलैमा पाए काम गरेर खान त सकिन्छ ।” 

पटकपटक चुनाव जिताएर पठाएका जनप्रतिनिधिले केही राहत पुर्याउन नसकेको भन्दै किसान निराश देखिन्छन् । फाकफोकथुम वडा नं ३ की प्रमिला राईको १६ मुरी धान फल्ने खेत छ । तर मल र खेताला लगाउन नसक्दा यो पटक आधा खेत बाँझै राख्नुपर्यो । राईले भने ,“अर्मपर्म जान सकिदैन, साना बच्चा छन् । जसोतसो छ गरा धान लगाएको थिए । अब थन्क्याउने बेला मुस्किल छ”, खेताला अभावका कारण एक्लै धान काट्ने तयारी सुनाउँदै उनि भन्छन् ,“एक हप्ता लगाएर एक्लै काट्छु भोटहाल्न जानुभन्दा त एक गरा धान पो काटिन्छ ।”

बिहान उठेदेखि साँझसम्म खेतबारीमा नङ्ग्रा खियाएर गुजारा टार्दै आएका किसानलाई निर्वाचनले छोएको छैन । “मङ्गलबार एकैदिन दुई हुल मानिस आएर आआफ्नै पार्टीको भोट मागेर गए । दिनभरिको काम गफ गरेरै बित्यो”, इलाम साँघुबेसीका हर्क मगरले भने, “यो गर्छौ, त्यो गर्छौ भोट चाहियो भने । आफूलाई पाकेको अन्न घर भित्र्याउन चिन्ता छ । के को घोषणापत्र रु कस्तो योजना रु वास्ता पो गरिएन ।” 

इलामका अधिकांश किसान धान खेतीमा निर्भर छन् । धान र चिया नै इलामका कृषकको मुख्य खेती मानिन्छ । किसानका समस्या भने धेरै छन् । न समयमा मल पाइन्छ न त राज्यले बीविजनमा अनुदान नै दिन्छ । आधुनिक कृषि प्रविधिको अभाव छ । उनीहरु सामान्यताः खेतबारीमा काम गर्दा प्रयोग हुने गम्बुट, डोका, नाम्ला र बीउविजन सरकारले उपलब्ध गराए हुन्थ्यो भन्छन् । सुन्दा सामान्य लागेपनि किसानका लागि यो ठूलो अभाव हो ।