धरान । वैदेशिक रोजगारी अन्तर्गत कुवेत गएर अलपत्र परेका सातजना नेपाली श्रमिकलाई उद्धार गरी नेपाल ल्याइएको छ । 

दुई महिनासम्म तलब नदिई काम मात्रै गराएपछि उनीहरूले कम्पनीविरुद्ध आवाज उठाएका थिए । सोही कारण उनीहरू अलपत्र हुन पुगेका थिए । उनीहरूलाई धर्म ओभरसिज प्रा.लि. र सञ्चारकर्मी जीवन शर्माको पहलमा बिहीबार राति स्वदेश ल्याइएको छ । उद्धार गरिएकाहरूमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, सहनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी रहेका छन् । सम्झौता विपरीत काम लगाएको र तलब नदिएको पीडितहरूले बताएका । छन् । उनीहरूका अनुसार कम्पनीले दैनिक १४ घण्टासम्म काममा लगाएको थियो ।

सम्झौताअनुसार तलब र सेवासुविधा नपाएपछि कुवेतस्थित नेपाली दूतावासलाई पटक–पटक ताकेता गरिएको थियो । रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेतले तलबसमेत नदिई आफूहरूलाई काममा लगाउने गरेको उनीहरूले बताए । उद्धारमा संलग्न धर्म ओभरसिजका अनुसार सातैजनालाई काठमाडौंको एक होटलमा राखिएको छ भने सम्बन्धित मेनपावर कम्पनीबाट पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ ।