नेपाल पत्रकार महासङ्घ झापा शाखाको आज वार्षिक साधारणसभा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साधारणसभाको उद्घाटन गरे ।

अध्यक्ष पोखरेलले कार्यक्रममा निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अङ्कुश लगाउने कामको विरोध गरे । उनले सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अङ्कुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गरे । 

अध्यक्ष पोखरेलले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयलाई लिएर जथाभावीरूपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनुपर्ने बताए। उनले भने, “प्रेस काउन्सिलबाहेक राज्यका कुनै पनि निकायले सञ्चार संस्था र सञ्चारकर्मीमाथि समाचार लेखेकै विषयलाई लिएर स्पष्टीकरण सोध्ने अधिकार छैन ।” 

नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ १ नं प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, केन्द्रीय सदस्य अमर खड्का, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासङ्घ झापा शाखाले प्रकाशन गरेको चौथो अङ्ग नामक बुलेटिन विमोचन गरिएको थियो ।