धरान । झापाको कनकाई नगरपालिकाले सडक मिचेर बनाइएका अनधिकृत भौतिक संरचना हटाउन सुरु गरेको छ ।
नगरपालिकाले डोजर नै चलाएर अनधिकृतरूपमा बनाइएका भौतिक संरचना भत्काउन सुरु गरेको हो । कनकाई नगरपालिकाको मुख्य बजार सुरुङ्गा बजारस्थित झापा रोड क्षेत्रमा सडक पेटी मिचेर बनाइएका घर तथा टहरा हटाउन थालेको हो ।
गत असोज १४ गते ३५ दिने सूचना जारी गरे पनि सडकको मापदण्ड मिचेर बनाइएको स्थानीय पदम प्रसाईंको चार तले घरको अगाडिको भाग भत्काइएको सूचना अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए । उनका अनुसार प्रसाईंले आफ्नो घरको अगाडिको भाग नभत्काइयोस् भन्दै जिल्ला अदालत हुँदै सर्वोच्चसम्म पुगेका थिए ।
‘जिल्ला अदालतमा हारे, त्यसपछि उच्च अदालत हुँदै सर्वोच्चमा गएका थिए’ उनले टेलिफोन सम्पर्कमा भने, ‘प्रसाईंले सर्वोच्चमा अन्तरिम आदेश मागेको भए पनि सर्वोच्चले आदेश नदिएपछि नगरले ३५ दिने सूचना निकालेर आज भत्काएका हौं ।’ अन्य घरधनीले भने सडकको मापदण्ड मिचेको भए पनि हटाएका थिए ।
नगरपालिकाको सूचनालाई अटेर गरेको भन्दै नगरपालिकाले आइतबारदेखि डोजर चलाउन सुरु गरेको हो । यसक्रममा नगरपालिकाले स्थानीय पदम प्रसाईंको चार तले घर अगाडिको भाग भत्काएको छ । नगरपालिकाले सडक पेटी मिचेर बनाइएका भौतिक संरचनालाई भत्काउने क्रममा प्रसाईंको पक्की घरको अगाडिको भाग भत्काएको हो ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरले जारी गरेको ३५ दिने सूचनाको म्याद शनिबार नै सकिएको भए पनि संरचना नहटेपछि बाध्य भएर डोजर चलाइएको बताए ।
सुरुङ्गा बजार कनकाई नगरपालिका–३ भित्र पर्दछ । उक्त बजारभित्र करिब ८८ वटा घरको लाछी अनधिकृतरूपमा सडक मिचेर बनाइएको नगरले जनाएको छ । घरधनी आफैले नभत्काएको खण्डमा डोजर लगाइने उनले बताए ।